काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केही नेताहरूले नेतृत्वको आलोचना गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि भए पनि अधिकांश नेताहरू तैचुप मैंचुपको अवस्थामा रहेका बेला नेताहरू कर्ण थापा, कृष्ण गोपाल श्रेष्ठ, अग्नि खरेल र महेश बस्नेतले आलोचना गरेका हुन्। ओलीको आलोचना गर्नेमा कुनै समय उनलाई डटेर साथ दिनेहरू छन्।
मंगलबार पनि पार्टी कार्यालय च्यासलमा जारी बैठकमा थापाले पार्टी यहीँ ढंगले अघि बढे २०८४ सालको चुनावमा ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिएका हुन्। थापाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यही ताल हो भने २०८४ मा एमालेले ६४ को परिणाम भोग्छ।’
अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आउँदो चुनवामा पार्टी निर्णायक राष्ट्रिय शक्तिका रुपमा उभ्याउने प्रस्ताव गरेका छन्। तर थापाले नेतृत्वको कार्यशैली यही रुपमा अघि बढ्ने हो भने ६४ मा भएको पहिलो संविधानसभाको चुनावमा जस्तै पार्टी ठूलो क्षति व्यहोर्ने बताएका हुन्।
मीनबहादुर गुरुङसँग जग्गासहित पार्टी कार्यालय दान लिने, भीम रावललाई पार्टीबाटै निकाल्ने, अरु नेताहरूलाई गरिएको कारबाहीप्रति थापा असन्तुष्ट रहँदै आएका छन्।
त्यस्तै, नेता कृष्ण गोपाल श्रेष्ठले पनि ओलीको कार्यशैलीमाथि व्यंग्य गरेका छन्। तीन मिनेट बोल्नका लागि समय पाएका श्रेष्ठले आफूले बोल्यो भने पार्टीलाई ठूलो क्षति हुने भएकाले नबोल्ने भन्दै बसेको स्रोतले बतायो। श्रेष्ठले भने, ‘म बोल्यो भने पार्टीलाई ठूलो घाटा हुन्छ। त्यसैले म बोल्दिनँ।’ त्यति भनेर उनले आफ्नो भनाइ अन्त्य गरेका थिए।
त्यसैगरी, नेता अग्नि खरेलले पनि ओलीमाथि प्रश्न गरेका छन्। उनले दानमा पार्टी कार्यालय लिने विषयले एमालेलाई लखेट्ने चेतावनी दिएको स्रोतले बतायो। अग्निले अग्नि रुप देखाउँदै अध्यक्षको वरिपरी बस्नेहरुले अप्ठ्यारोमा किन प्रतिवाद गर्दैनन् भनेर सोध। खरेलले ओलीलाई सोधे, ‘पार्टी कार्यालय बनाउनेबारे किन छलफल भएन? यसले हामीलाई लखेट्छ। अध्यक्षमाथि प्रहार हुँदा दायाँबाया बस्नेहरू किन प्रतिवाद गर्दैनन्?’
खरेलले ओलीलाई साँघुरो दायराबाट बाहिर निस्कन पनि सुझाव दिएका छन्। ‘अगालो जति ठूलो बनायो त्यति धेरै मान्छे अट्छन्,’ खरेलले भने।
आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राखिरहेका छन्। प्रत्येकलाई बोल्न तीन मिनेटको समय दिइएको छ। केन्द्रीय सदस्यहरूले बोलिसकेपछि अध्यक्ष ओलीले जवाफ दिएर बैठक समापन गर्ने तयारी छ।

भर्खरै
लोकप्रिय






































































































































































































