
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो केही दिनयता मौसममा बदली आएका कारण चिसो बढेको हो।
कुहिरोका कारण काठमाडौँ उपत्यकामा बिहानीपख आकाश खुल्न सकेको छैन भने दिउँसो पनि राम्ररी घाम लागेको छैन।
तराईं क्षेत्रमा बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्ने गरेको छ। कतिपय उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएकोले पनि चिसो बढेको छ। काठमाडौँका विभिन्न ठाउँमा चिसोबाट जोगिन मानिसहरु आगो तापिरहेको पनि देख्न सकिन्छ।
काठमाडौँको मंगलबार बिहानको न्युनतम तापक्रम ४ डिग्री मापन भएको छ।