
पोखरा – प्रहरीको हिरासतबाट ८४ दिनमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीबाट निस्किएका छन्। उनको स्वास्थ्य परीक्षण गरेर प्रहरीले छाड्नेछ।
जिल्ला प्रहरी कार्यालयनजिकै रहेको फिस्टेल हस्पिटलमा रविको स्वास्थ्य परीक्षणका लागि लगिएको छ। उनी निजी सवारीमा चढेर अस्पतालतर्फ लागेका हुन्।
उनी आफै भोलि जिल्ला अदालत काठमाडौँ उपस्थित हुने भएकाले प्रहरीले पक्राउ नगर्ने भएको छ।
लामिछानेविरूद्ध काठमाडौँमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको मुद्दा दायर भएको छ। जिल्ला अदालतलेसमेत पक्राउ पुर्जी जारी गरेको अवस्था भएकाले पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाउने तयारीबाट प्रहरी पछाडि हटेको छ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न थुनछेक आदेश दिएको थियो। रवि ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेपछि उनी रिहा भएका हुन्।