
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार अप्राकृतिक भएको र यसको आयु धेरै नभएको ठोकुवा गरेका छन्।
माओवादी संसदीय दलको कार्यालयमा आयोजित विपक्षी दलहरुको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले ओलीको सरकार लामो नटिक्ने बताएका हुन्।
उनले सञ्चारकर्मीहरुसँग भने- यो सरकार अप्राकृतिक हो। धेरै लामो जाँदैन।
बैठकमा समाजवादी मोर्चालाई घनीभूत बनाएर अगाडि लैजाने विषयमा पनि छलफल भएको नेता दाहालले बताए।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी थिए। बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता मोहन श्रेष्ठ पनि पुगेका थिए।
बैठकबाट निस्किएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै उनले सत्ता नछाड्ने दाउ बनाएको बताएका थिए।
सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने- ओलीजी २०८७ सालमा संविधान संशोधन गर्ने भन्दै हुनुहुन्छ। त्यत्तिञ्जेल सत्ता नछाड्ने दाउ हो?’
उनले संसद् विघटन गरेर सत्ता लम्ब्याउन खोजेको हो कि भनी ओलीलाई कटाक्ष गरेका थिए।
त्यस्तै उनीसँगै बैठकबाट बाहिरिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीले संविधान संशोधन गर्नै नचाहेको टिप्पणी गरेका थिए। ‘म त भोलि हुने पृथ्वी दिवसको कार्यक्रमको निम्तो दिन आएको तर समसामयिक विषयमा छलफल त भइहाल्छ नि। प्रधानमन्त्री ओली संविधान संशोधन नै नगर्ने दाउमा हुनुहुन्छ,’ उनले भने।
राप्रपाले शनिबार पृथ्वी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा सबै दलका नेताहरुलाई निम्ता गरेका छन्।
राप्रपा, नेकपा एससहित माओवादी र जसपासहितको बैठकमा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार भएको थियो।
यसअघि बिहीबार पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसहितका विपक्षी नेताहरु छलफलमा जुटेका थिए।
केही यता सत्तारुढ दलहरुबीच फाटो बढ्दै जाँदा विपक्षी दलहरुले छलफल तीव्र पार्दै लगेका छन्।