
मोरङ – कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लामा रहेका प्रादेशिक अस्पतालसहित सबै जिल्ला अस्पताललाई वहिरंग सेवा सञ्चालनका लागि आह्वान गरेको छ।
स्वास्थ्य क्षेत्र संवेदनशील रहेको भन्दै स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सरकार प्रदेशवासीको स्वास्थ्य अवस्थाप्रति सचेत रहेको बताए।
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र सेवाको गुणस्तर सुधार गर्न सरकार प्रयासरत रहेको बताउँदै मन्त्री राईले प्रदेशमा रहेको भद्रपुरस्थित प्रादेशिक अस्पताल, मोरङमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उदयपुरस्थित कटारी अस्पताल र सबै जिल्ला अस्पताललाई वहिरङ सेवा दुई चरणमा सञ्चालन गर्न आह्वान गरिएको बताए।
उपचारका लागि अस्पताल पुग्ने विरामीको सहजताका लागि विहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म टिकट काट्न पाउने गरी ब्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ।
त्यसैगरी, मन्त्रालयले प्रत्येक दिन दुईपटक विहान १० देखि १ बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म दुई चरणमा बहिरङ सेवा सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर प्रसाईले जानकारी दिए। त्यसैगरि, मन्त्रालयले विभिन्न ५५ प्रकृतिका औषधिहरुको लागत संकलनका लागि आपूर्तिकर्तामाझ आह्वान गरेको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्ने ती औषधि सात दिनभित्र आपूर्तिकर्ताले दररेटसहित उपलब्ध गराउन आह्वान गरेको हो।