
सिमकोट – सरकारी स्तरबाट न्यून सेवा–सुविधा प्रदान गरेर दूरदराजका बस्तीमा सेवाग्राहीलाई स्वास्थ्य सेवा दिने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्दै आएकी स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रभावकारी देखिएको छ।
ग्रामीण बस्तीमा बस्ने भएका कारण जतिखेर पनि गाउँगाउँमा सेवाग्राहीको साथमा उपस्थित हुने भएकाले तोकिएको समयमा उपचार सेवा प्रदान गर्न उनीहरूको भूमिका उल्लेखनीय रहेको हो।
ताँजाकोट गाउँपालिका– १ को भैसामाझ स्वास्थ्य चौकीअन्तर्गतकी स्वास्थ्य स्वयंसेविका अनिता खड्काले हालसम्म आफूले प्रदान गरेको सेवाप्रति सन्तुष्टि जनाउँदै न्यून सेवा–सुविधाले पनि मावन सेवा गर्न पाउनुमै गर्व रहेको बताइन्।
सात वर्षदेखि सेविकाको रुपमा काम गर्दै आएकी खड्कालाई वडाअन्तर्गतका सबै घरधुरीका स्थानीयले चिन्दै आएका छन्। उनले जिम्मेवारी लिएपछि सुविधा भन्दा पनि कामलाई ठूलो मान्नुपर्ने बताइन्। हालसम्म उनले वडाका सबै घरधुरीमा पुगेर सेवा दिन थालेकी छन्।
त्यसैले खड्कालाई गाउँका मानिसले सामाजिक कार्यकर्ताको रुपमा चिन्ने गर्छन्। गाउँमा खड्का पुग्नेबित्तिकै केही न केही उपचारका कार्य हुन्छ भन्ने ठम्याइ गाउँबासीको छ।
उनले हुन त आफ्नो काम स्वास्थ्यकर्मीलाई सघाउ पुर् याउनु भए पनि त्यसले गाउँमा ठूलै महत्व राख्ने गरेको बताइन्।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले विशेष गरी मातृ शिशु स्वास्थ्य, पोषण खोप कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहने गरेको बताए।
सिमकोट गाउँपालिकामा यो कामका लागि आठ वटै वडाका सबै बस्तीमा ४५ जना सेविकाले सेवा प्रदानमा सघाउ पुर् याएका छन्।
कामअनुसार सेवा–सुविधा खासै राम्रो नभए पनि आफ्नो जिम्मेवारीमा महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका महत्वपूर्ण भएको उनले बताए।
खासमा स्वास्थ्य स्वयंसेविकाले राज्यबाट पाउने सुविधा भनेको वर्षमा १० हजार पोसाक भत्ता, १२ हजार यातायात खर्च र प्रदेश सरकार पाँच हजार गरी जम्मा २७ हजार पाउँदै आएका छन्।
कामअनुसार यति सुविधा पूर्ण नभए पनि विशेष गरी महिला र पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्योपचारका लागि स्वास्थ्य स्वयंसेविका रात दिन खटिनु मुख्य कुरा भएको उनको भनाइ छ।
यता, ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले प्राथमिक उपचार, पाँच वर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरी, खोप, पोषण, सरसफाइ, प्रत्येक महिना स्वास्थ्य आमा समूहको बैठकमा सहभागिता हुनेजस्ता कामले स्वास्थ्य स्वयंसेविकाको महत्व झल्किने बताए।
सीमित स्वास्थ्यकर्मीका भरमा स्वास्थ्य संस्था सञ्चालनमा असजिलो हुने भन्दै उनले कामअनुसार मामको व्यवस्था हुन सकेको भए अझै यो सेवा प्रभावकारी बन्ने बताए। ती कामबाहेक स्वास्थ्य स्वयंसेविकाले जनचेतना फैलाउने काममा पनि सबैले सहयोग गरिरहेका छन्।
हुम्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडामा रहेका स्वास्थ्य संस्थाअन्तर्गत २ सय ४९ जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकित्सक प्रतीक्षा भारतीले जानकारी दिइन्।
उनका अनुसार गाउँपालिकाअनुसार हाल कार्यरत स्वास्थ्य स्वयंसेविका नाम्खामा ३६ जना, सिमकोटमा ४५ जना, खार्पुनाथमा ३६ जना, सर्केगार्डमा ५४ जना, चङ्खेलीमा ३७ जना, अदानचुलीमा १८ जना र ताँजाकोट गाउँपालिकामा २३ जना छन्।
उनले सेविकाको काम प्रभावकारी देखेरै मन्त्रालयले महत्वका साथ उनीहरुलाई परिचालन गर्ने कार्यक्रम तय गरेको बताइन्।