
सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकका लागि शय्या र न्यानोका लागि हिटरको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक अस्पतालमा आउदा बेड अभावको कारण उपचारमा समस्या हुने गरेको देखिएपछि अस्पताल व्यवस्थापनले यो व्यवस्था गरेको हो।
बिगत चार वर्षदेखि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागु हुदै आएको भएपनि माघ महिनाबाट अस्पतालको वार्डमा साठी वर्ष माथिका ज्येष्ठ नागरिक बिरामी भएर भर्ना भएपछि छुट्टै शय्याको व्यवस्था गरिएको कार्यालय प्रमुख चिकीत्सक प्रतिक्षा भारतीले बताईन।
हाललाई अस्पतालमा यस्ता दुई वटा शय्याको व्यवस्था गरिएको छ। हुम्ला जिल्ला अस्पताल पन्द्र शय्याको रहेको छ। उनले अस्पतालसंग भएको कुल शय्याको दश प्रतिशत ज्येष्ठ नागरिकका लागि छुट्याउने व्यवस्था गरिएको बताईन। यसअघि बिरामीको चाप धेरै हुँदा ज्येष्ठ नागरिक बिरामी भएर अस्पताल आएको समयमा खाली भुईमा राखेर उपचार गर्नु परेको थियो।
उनले यो समस्यालाई ध्यानमा राखी अस्पतालको वार्डमा ज्येष्ठ नागरिकको उपचारका लागि शय्या व्यवस्थापन गर्नु परेको बताइन्।
चार वर्षदेखि अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन हुँदै आएको छ। उक्त शय्यामा वसेर उपचार गर्ने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क उपचार समेत गर्ने व्यवस्था गरिएको छ। उपचारका लागि अस्पतालमा ज्येष्ठ नागरिक नभएको अवस्थामा भने ती शय्यामा अन्य बिरामीलाई राखेर उपचार गरिनेछ।
ज्येष्ठ नागरिकलाई उपचारमा निःशुल्क र छुटको व्यवस्था
अस्पतालले उमेर अनुसारका ज्येष्ठ नागरिकहरुलाई अस्पतालमा उपचार गर्दा निःशुल्क र छुटको व्यवस्था समेत गरेको छ। प्रमुख भारतीले ७५ वर्ष भन्दा माथिका सबै खाले ज्येष्ठ नागरिकहरुलाई अस्पतालमा उपलब्ध हुने सबै सेवाहरु निःशुल्क रुपमा उपचार गर्ने र औषधी सहयोग गर्ने गरिएको बताउनुभयो।
त्यसैगरी, ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकहरुलाई पचहत्तर प्रतिशत छुट र साठीदेखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ। यस्ता नागरिकहरुको स्वास्थ्य बिमा भएको भए बिमाबाटै उपचार खर्च ब्यहोर्ने व्यवस्था गरिएको छ। अस्पतालमा ज्येष्ठ नागरिक कार्यक्रमका लागि दश लाख बजेट केन्द्रबाट आएको छ।