‘बालकृष्ण सर’को अविस्मरणीय विदाइ…

‘बालकृष्ण सर’को अविस्मरणीय विदाइ…
+
-

पोखरा- पञ्चेबाजा घन्काउँदै विद्यार्थीको लावालस्कर अघिअघि । पछिपछि शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी । बीचका एक जना शिक्षकको मुहारको रङ छेकिने गरेर अबिरले पोतिएको छ । गलाभरी फूलमाला, खादा र दोसोल्लाको भारी । हर्षबढ्याँई गरेको जस्तै लाग्ने उनका पछाडि पनि विद्यार्थी र शिक्षकको लस्कर देखिन्छ ।

यो दृश्य हो ‘बालकृष्ण सर’ को विदाइको । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको तालबेंसी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण पौडेल सोमबार अनिवार्य अवकाशपछि कक्षाकोठाबाट विदा भए । विद्यालयले उनलाई तामझामका साथ विदाइ गर्यो । विद्यार्थी आफैंले बालकृष्ण सरलाई पञ्चेबाजा घन्काउँदै घरसम्म पुर्याए ।

कास्कीको पोखरा महानगरपालिका–३३ चवादीका बालकृष्ण सरको विदाइ देखेर स्थानीय दंग परे । किनकी यसरी अवकाश प्राप्त शिक्षकलाई विद्यार्थीले बेहुली अन्माएर पठाए जसरी बाजागाजासहित विद्यालयबाट घर पुर्याइएको दृश्य पहिलो पटक देखेका थिए । यस्तो दृश्य विरलै पनि देखिन्छ । बालकृष्णको विदाइको दृश्य यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ छ । धैरले प्रतिक्रिया जनाएका छन्, ‘एउटा शिक्षकले पाउने सम्मान भनेको नै यहि त हो ।’

बालकृष्णले आफूलाई यसरी विदा गरिएला सोचेकै थिएनन् । उनलाई लागेको थियो, सामान्य कार्यक्रम गरेर विद्यालयले विदा गरिनेछ । उनी भन्छन्, ‘यो मेरा निम्ति अविस्मरणीय क्षण रह्यो । मेरो बिहेमा पनि यस्तो गर्न मैले सकेको थिइन । अहिले यस्तो सम्मानसाथ विदाइ हुन पाएँ धेरै गर्व लागेको छ ।’

विदाइमा गरिएको सम्मानलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइको रुपमा बालकृष्णले अर्थ्याएका छन् । उनले आफूले जीवनभर कमाएको सम्पत्तिको रुपमा विदाइको पललाई संगालेका छन् ।

‘हुन त छाड्ने बेलामा जहाँ पनि गाह्रो हुन्थ्यो । पहिला अस्थायी शिक्षक भएर पनि धेरै पढाएं । सरुवा हुने बेलामा अभिभावक, विद्यार्थी, स्थानीय सबैले नछोड्नु भन्नुहुन्थो’, बालकृष्ण थप्छन्, ‘तालबेंसीले यति धेरै माया मान्ला जस्तो लाग्याथेन । यो त मैले सोंचैकै थिइन । नसोंचेकै भयो ।’

विद्यालय र विद्यार्थीको सम्मानले उनको मन भारी थियो । लामो समय बिताएको पेशाबाट निवृत्ति हुनेबेला पाएको सम्मानले आँखामा टिलपिल भएका हर्षका आँसुलाई माहोल बिग्रेला भनेर उनले डिलमै अड्याए । बाजागाजासहित श्रीमानलाई घर ल्याएको देखेपछि बालकृष्णकी श्रीमति पनि बाटोसम्म आइन् । सरलाई छोड्न आएका विद्यार्थीले उनलाई पनि फूलका गुच्छा दिँदै सम्मान टक्रयाउँदै शीर निहुराए । श्रीमान्लाई दिएको माया र सम्मान देखेर उनले खुशी थाम्न सकिनन् । आँखा डिल हुँदै खुशीका थोपाहरु बरररर खसे ।

बालकृष्णले २०६० सालको कात्तिक ३० गतदेखि स्थायीय रुपमा शिक्षण पेशा सुरुआत गरेका थिए । सुरुमा उनले सरस्वती मावि आहाले गोरखाको कक्षाकोठा छिरेर विद्यार्थीलाई भविष्य कोर्न थाले । १४ वर्ष ९ महिना अघि उनी घरपायकको तालबेंसी मावीका कक्षाकोठालाई कर्मथलो बनाए । निमावि विज्ञान विषयको शिक्षक उनलाई अवकाशको दिन विद्यालयले यादगार विदाइ गरेको हो ।

विद्यालयले बालकृष्ण सरलाई विदाइको दिन पञ्चेबाजासहित घरमै पुर्याएर सरप्राइज दिएको विद्यालयका प्रधानाध्यापक धुर्व वाग्ले बताउँछन् । विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समिति मिलेर ‘सरप्राइज’ योजना बनाएको उनको भनाइ छ ।

‘सरले विद्यालयमा लामो समय सेवा गर्नुभयो । विदाइमा हामीले सरप्रति देखाएको सम्मान हो । उहाँप्रति गहिरो सम्मान व्यक्त गरेको हौं’, वाग्लेले भने । तालबेंसीमै लामो समय सेवा गरेर अनिवार्य अवकाश हुने शिक्षकलाई अबदेखि यसैगरि सम्मानजनक विदाइ गर्ने उनले बताए ।

बालकृष्ण सरको विदाइमा बाजा बजाउने पनि तालबेंसीकै विद्यार्थी नै हुन् । विद्यालयले ९ जना इच्छुक विद्यार्थीलाई बाजा बजाउने कला सिकाउन थालेको छ । तर, सिकाउने प्रशीक्षकको अभावमा विद्यार्थी आफैंले ताल मिलाइरहेको प्रध्यानध्यापक वाग्ले बताउँछन् ।

वाग्लेका अनुसार वडाले बजेटकै व्यवस्थापन गर्ने आश्वासन दिए पनि नियमित प्रशिक्षकको अभाव भोग्नुपरेको छ । किताबी ज्ञानलाई सिकाउँदै व्यवहारमा उतार्न प्रयास गरेको उनको भनाइ छ । ‘बाजा हाम्रो लोक संस्कृति भएकाले जगर्नेना गर्न खोजेका छौं । पाठ्यक्रममा पनि बाजागाजाका विषयमा भएकाले विद्यार्थीलाई सिकाउनुपर्नेछ भनेर लाग्यौं’, उनले देशसञ्चारसँग भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?