
सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रबाट एक जना उच्च रक्तस्राव भइरहेकी गर्भवती महिलाको हेलिकोप्टरबाट जिल्लाबाहिर उद्धार गरिएको छ।
अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि गर्भवतीको उद्धार गरेर सुर्खेत लगिएको हो।
अदानचुली गाउँपालिका–२ को महतारा गाउँकी ३१ वर्षकी असली महतारालाई आठ महिनाको गर्भवती भएको अवस्थामा उच्च रक्तस्राव भएपछि बुधबार दिउँसो हेलिकोप्टरबाट सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्।
गर्भवती महतारालाई २३ गते बिहान पाँच बजेबाट उच्च रक्तस्राव भएको र घरपरिवारका सदस्यले सोही दिन राति १० बजे मात्र श्रीनगर स्वास्थ्य चौकीमा ल्याए पनि स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि रिफर गर्दा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।
उनको उद्धार राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गरिएको हो। यसका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गरेको थियो।