
पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत गरिएको छ। पोखराको पूरानो विमानस्थलमा शाहलाई पोखरेलीले आइतबार भव्य स्वागत गरेका हुन्।
रहवाबाट समिट एयरको चार्टड विमानमार्फत साढे ३ बजे पोखरा ओर्लिएका पूर्वराजा ज्ञानेन्द्रलाई पोखरेलीले बाजागाजासहित पुष्पअर्पण गरे। ‘हाम्रो राजा, हाम्रो प्राण’, लगायतको नारा लगाए। पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारका अन्य सदस्य आएका छन्। पूर्वरानी कोमल शाह केही दिनमा आउनेछिन्।
नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले राजाको स्वागतका लागि आह्वान नै गरेको थियो। समारोहका सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजा ज्ञानेन्द्र दुई हप्ता पोखरा बस्नेछन्। पोखरा आसपासका धार्मिकस्थलको भ्रमण गर्ने गिरीले बताए।