
काठमाडौँ- बबरमहलमा बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जनजीवन अस्तव्यस्त हुनुमा नेपाल विद्युत प्राधिकरणको लापरबाही कारण देखिएको छ। भूमिगत तारको काम गरिरहेका बेला असाबधानीबस खानेपानीको पाइप काटिएको थियो।
प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ। उक्त क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत्लाइन भूमिगतको काम गरिरहेको र सोही क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवश पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको हो।
‘वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिवस मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के. ई. आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन्। केईआईले तार भूमिगतको काम गरिरहेको छ।
पाइप फुटेर जलमग्न भएको बबरमहल क्षेत्रमा सुरक्षाकर्मी तथा महानगरकर्मीहरूले उद्धार तथा व्यवस्थापनका काम बुधबार अबेरसम्म पनि गरिरहेका छन्।