
हु्म्ला– सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन ( ट्याक्सी वे ) हस्तान्तरण नहुँदै भ्याङ परेको छ। एप्रोनका लागि पुरिएको माटोमा गतिलो किसिमले रोलर नलाएकै कारण माटो तल झर्दा कालो पत्र गरेको एप्रोनको भागमा भ्वाङ परेको हो।
हवाईजहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भ्वाङ परेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्र बहादुर सिंहले बताए।
यद्यपि, सो एप्रोनमा जहाजले पाकिङका लागि परीक्षण भने गरेका थिए। प्रमुख सिंहले त्यति धेरै अग्लो गरि निर्माण गर्न आवश्यक नरहेको एप्रोनमा माटो भर्ने क्रममा कसिलो किसिमले रोलर मेशिन सञ्चालन नगरेकै परिणाम अहिले एप्रोनमा भ्वाङ परेको बताए।
विमानस्थलभन्दा तीस मिटर माथि उठाएर उक्त एप्रोन निर्माण गरिएको छ। उनले माटो पर्ने क्रममा राम्रोसँग रोलर चलाउन आवश्यक पर्ने तर त्यसरी माटो थिच्चिने गरी नचलाएको कारण भरिएको माटो तल झरेपछि एप्रोन भाँसिएको बताए। नयाँ एप्रोन अग्लो गरी निर्माण गरिएको कारण विमानस्थलका कर्मचारीहरुलाई जहाज टेक अफ गर्ने अन्तिम क्षेत्र देख्न सकिने अवस्था समेत छैन। एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाई र दुई फिट गहिरो एप्रोनको भाग भासिएको छ।
सिमकोट विमानस्थल संरचना निर्माण आयोजनाका प्रमुख बिद्यानन्द किशोरले वर्षामा पानी कालो पत्रेमा चुहिएको कारण भाँसिएको बताऐ। निर्माण कम्पनीको लापरवाही र कमसल कालोपत्रेको कारण एप्रोनको भाग सञ्चालनमा नआई र निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भ्वाङ परेको आयोजनाले स्वीकार गरेको छ।
कमसल कालो पत्रेको कारण वर्खामा पानी चुहिएपछि माटो बगाएर लग्दा उक्त कालो पत्रे गरेको एप्रोन भाँसिएको बताउदै सो भागमा नयाँ किसिमले निर्माण गर्न निर्माण कम्पनीलाई परिपत्र गरेको उहाँले बताऐ। अब भाँसिएको भाग मात्र नभएर नयाँ निर्माण गरिएको एप्रोनको दक्षिणतर्फको सम्पूर्ण भाग पुनर्निर्माण गर्नु पर्नेछ। उक्त योजना क्याराभान गाल्भा जेवीले निर्माण गरेको हो। २०७४ सालमा उक्त निर्माण कम्पनीले एप्रोन निर्माणका लागि आयोजनासंग सम्झौता गरेको थियो।
तोकिएको समयमा निर्माण कार्य पुरा नभएपछि पटक पटक म्याद थप्ने कार्य भएको थियो। यसका लागि नागरिक उड्डयान प्राधिकरणले १७ करोड लागतमा निर्माण कम्पनीसंग सम्झौता गरेको थियो। निर्माण कम्पनी पक्षले दुई करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको कारण प्राधिकरणलाई भाँसिएको भागको काम गर्न समस्या नहुने उनले बताए। सो एप्रोनको अन्य भागमा पनि कालो पत्रे उप्केर जान थालि सकेको छ। यसअघि पनि सोही एप्रोनका पुर्व तर्फ कालो पत्रे चिरा परेपछि टाल्ने कार्य भएको थियो। सिमकोट विमानस्थलसंग यो सहित तीन वटा एप्रोन रहेका छन्।