मोरङ– बूढीगंगा गाउँपालिकाले पालिकास्तरीय १० शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ। आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अस्पतालको उद्घाटन गर्दै नागरिकहरु शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै मुलुक सुन्दर र विकसित हुने बताए। उनले भने ‘अस्वस्थ र रोगी मानिसले देश बनाउन सक्दैन।
यदि नागरिक अस्वस्थ भएमा देशको पैसा पनि स्वास्थ्य उपचारमै खर्च हुन्छ। त्यसो भएकाले रोग लाग्न नदिन जनस्तर अझ विद्यालय तहदेखि नै व्यापक मात्रामा सचेतना जगाउनु आवश्यक छ।’
कार्यक्रममा नेता कोइरालाले आवश्यक मात्रामा दैनिक शुद्ध पानी पिउनाले ७० देखि ८० प्रतिशत रोग नलाग्ने चिकित्सकहरूले नै बनाउने गरेको उल्लेख गरे।
त्यसैगरि, उनले जनतालाई अस्पताल नै नजाने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘घरमा पुगेर स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन सकिए धेरै मानिस निरोगी हुन्छन्,। जसबाट अस्पतालहरूमा देखिँदै आएको भीड कम हुनेछ।’ सोही क्रममा नेता कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको उल्लेख गरे।
उनले भने, ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ। उत्पादकत्व वृद्धि हुन सकेको छैन। परनिर्भरता बढ्दै गएको छ।’ नेता कोइरालाले सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १ सय ८० मुलुकमध्ये नेपाल एकसयमा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १ सय ७ औं स्थान पर्नु लज्जाको विषय भएको टिप्पणी गरे।
नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औंल्याए। पालिकास्तरीय अस्पतालमा आकस्मिक र ओपीडी सेवा रहेको गाँउपालिका अध्यक्ष जीतनारायण थापा मगरले जानकारी दिए।
१० बेडको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध रहेको अध्यक्ष थापाले जानकारी दिए। पालिकावासीको सुविधालाई ध्यानमा राखेर ३६५ दिनको चौवीसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ। त्यसबाहेक बिहान ८ देखि राति ८ बजेसम्म ओपीडी सेवा पनि चालु रहने उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































