
सिमकोट- सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना हेप्का खोलामा निर्माणाधीन पक्की पुलले सम्झौताको आठ वर्षपछि पूर्णता पाउन लागेको छ ।
सो पुलको निर्माण कार्यमा सघाउ पुर्याउँदै आएको हिल्सा सिमकोट सडक आयोजनाको पटक-पटकको ताकेतापछि पुलले पूर्णता पाउन लागेको हो ।
निर्माण कम्पनीलाई धेरै ताकेता र परिपत्र गरेको परिणाम हेप्का खोलाको पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए ।
उक्त पुल सम्झौता भएको आठ वर्षपछि निर्माण कार्य पूरा हुन लागेको होे । पुलको ढलानका लागि सबै तयारी भइसकेको र चिसोको कारण सिमेन्टको काम हुन नपाएपछि हाल रोकिएकोले अब चाँडै ढलान कार्य सुरु हुनेछ ।
पुल ढलान र एप्रोच रोड निर्माण हुने बित्तिक्कै पुल निर्माण कार्य सम्पन्न हुनेछ । सो पुलको निर्माण कार्य अगाडि बढाउनका लागि निर्माण कम्पनी पक्षलाई धेरै पटक आयोजनाले ताकेता गर्नु परेको थियो भने हालसम्म गरी पाँच पटक त म्याद थप नै भएको छ । पुलको लम्बाई पच्चीस मिटर रहेको छ भने तेह्र मिटर उचाइ रहेको छ ।
निर्माण कम्पनी पक्षका स्थानीय प्रतिनिधि प्रेमबहादुर शाहीले चिसोको कारण ढलान गर्न नसकिएको र निर्माण सामाग्री निर्माण स्थलमा पुगिसकेकोले अब चाँडै काम सम्पन्न हुने बताए ।
पुल निर्माणका लागि निक्कै समय लागेको बताउँदै उनले जति सक्दो चाँडो पुल निर्माण गरेर हस्तान्तरणमा लाग्ने बताए।
आर्थिक वर्ष ०७४।०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पुल निर्माणका लागि २०७४ साल साउन १५ गते निर्माण कम्पनी सपना धुलिखेल जेभीसँग आयोजनाले सम्झौता गरेर २०७६ साल साउन १५ गते सम्पन्न गर्नुपर्ने थियो ।
यसका लागि निर्माण कम्पनीले दश करोड ४८ लाख ८८ हजार ९४५ रुपैयाँमा आयोजनासँग सम्झौता गरेको थियो । यसअघि सडक सञ्जाल नजोडिएको कारण निर्माण सामाग्री ढुवानी गर्न कठिन र त्यसपछि कोरोनाको कारण काम अगाडि बढाउन नसकिएको निर्माण कम्पनी पक्षले जनाउँदै आएको थियो ।