
सिमकोट – हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तक पुग्न सुरु भएको छ। पाठ्यपुस्तक समयमै छापिएका कारण ढुवानीको जिम्मा पाएका सप्लायर्सले नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि सम्बन्धित गाउँपालिकामा ढुवानी गरेर पुर् याउन थालेका हुन्।
सिमकोट र नाम्खा गाउँपालिकाका ३५ वटा सामुदायिक विद्यालयका लागि पुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक हप्ताअगाडि नै पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा पुर्याएर बिक्री सुरु गरिएको बताए।
निजी र जनक शिक्षा सामग्री केन्द्रको सुर्खेत शाखाबाट पाठ्यपुस्तक खरिद गर्दै उनले ढुवानी गरेका हुन। रोकायाले यी दुई गाउँपालिकाका लागि कक्षा एक, दुई र चारका लागि एक हजार ५५ सेट पुस्तक जिल्लामा ढुवानी गरेर ल्याई पुर्याएका छन् भने कक्षा ३, ५, ६, ७, ८, ९, १० , ११ र १२ का लागि एक हजार ९६० सेट पुस्तक ढुवान्ी गरेर ल्याएका छन्। यी दुई गाउँपालिकाका सवै विद्यार्थीका लागि दश हजार थान पाठ्यपुस्तक आइपुगेका छन्। त्यसमध्ये नाम्खा र सिमकोट गाउँपालिकाका ६ वटा विद्यालयले पुस्तक लिइसकेका छन्।
यता, खार्पुनाथ गाउँपालिकाका १७ वटा विद्यालयका लागि पुस्तक ढुवानीको जिम्मा लिएको सुमन पुस्तक पसलले पनि केन्द्रको नेपालगञ्ज शाखाबाट पाठ्यपुस्तक ढुवानीका लागि सम्पर्कमा आएको र शुक्रबार पुस्तक जिम्मा लिने जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख हेमराज ढुं्गेलले बताए।
पुस्तक बुझेलगत्तै तीन दिनमा गाउँपालिका केन्द्रमा पुर्याउने तयारी गरिएको छ।
उनले हिमाली जिल्ला हुम्ला डोल्पाका लागि पुस्तक बिक्री सुरु भएको बताए। यता, सर्केगाड गाउँपालिकाका विद्यालयका लागि पुस्तक खरिद र ढुवानीको जिम्मा लिएको ज्ञानु बुक्स एण्ड स्टेसनरीका प्रतिनिधि मानदेव शाहीले पुस्तक खरिदका लागि केन्द्रसंग समन्वय भइरहेको र फागुन १० गतेभित्र पुस्तक गाउँपालिकामा पुर्याउने तयारी भइरहेको बताए।
सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय रहेका छन्। त्यस्तै चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाकाका ५७ वटा विद्यालयका लागि पनि पाठ्यपुस्तक खरिद गरेर गाउँपालिकामा पुर्याउने तयारी भइरहेको छ। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश आलेमगरले हुम्ला जिल्लामा १४१ वटा विद्यालयमा २० हजार ३९० विद्यार्थी अध्ययन गर्दै आएकाले यस वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पुस्तक जिल्लामा पुग्न सुरु भएको बताए। यस पटक समयमै पाठ्यपुस्तक विद्यार्थीका हात पर्ने र विगतको भोगेको समस्या नदोहोरिने अवस्था देखिएको छ।