
जनकपुरधाम – धनुषामा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु भएको छ। जिल्लको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको बुधबार साँझ मृत्यु भएको हो। जनकपुरधान उपमहानगरपालिका–१९ बेंगाशिवपुरस्थित किशोर फाउन्डेशन (सुधारकेन्द्र) मा करिब दुई महिनादेखि रहेका यादवको मृत्यु भएको हो।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले यस सम्बन्धमा अनुसन्धान भइरहेको बताए। युवकको मृत्यु भएपछि परिवारजन तथा स्थानीयले सुधारकेन्द्रको लापरवाहीको कारण भएको आरोप लगाएका छन्।
स्थानीय महेशलाल यादवले दुई/अढाई महिना पहिला राजकुमारलाई सुधारकेन्द्रमा राखेकोमा उनीहरुको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाए।
‘मर्नुभन्दा दुई तिन दिन पहिला राजकुमारको आमा र मामा भेट गर्न गएका थिए। उनीहरु भेट्दा छोरालाई जोन्डिस भएजस्तो शरिर पहेलो भएको देखेपछि सुधारकेन्द्र प्रशासनलाई आफ्नो छोरालाई लग्ने भनेका थिए’, उनले अगाडि भने, ‘उनीहरुले दुई तीन महिना यहाँ नै राख्नुस अझै राम्रो भइहाल्छ भनेर आश्वासन दियो।आइसकेपछि अस्ति ११ बजेतिर फोन गरेर जानकारी गरायो।’
यादवले सुधारकेन्द्रबाट राजकुमारलाई जनकपुरधाम स्थित समरअस्पतालमा लगेकोमा चिकित्सकले चिकित्सकले बढी औषधी खाइसकेकाले ओभरडोजका कारण शरिर टाइट भएको र कफजस्तो भएको बताउँदै प्रादेशिक अस्पतालमा लग्न भनेपनि अस्पतालमा नलगि सुधारकेन्द्रमा लगेको बताए।
उनले भने, ‘पुनः सावा ५ बजे त्यहाँबाट प्रादेशिक अस्पतालमा लगेकोमा चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको बताए। यो त पुरै लापरवाही हो। समर अस्पतालमा मर्ने अवस्था थिएन राम्रै थियो उनीहरुले प्रादेशिक अस्पतालमा लग्न भनेकोमा त्यहाँ लग्नुपर्थो तर त्यस्तो गरेनन्।’
यता सुधार केन्द्रका व्यवस्थापक संजिव शर्माले आफुहरुबाट कुनै लापरवाही नभएको दावी गरे। उनले यो दुःखद घटना रहेको भन्दै भने, ‘हामी कहाँ कसैको बच्चा आउँछ भने हामी कसरी लापरवाही गर्छु। उनीहरुको घरमा यस्तो घटना भएको छ, उनीहरुको अधिकार छ भन्ने। दुःख हामीलाई पनि छ।’
शर्माले राजकुमारको मान्सिक अवस्था ठिक नरहेको भन्दै भने, ‘भाईको मान्सिक अवस्था खराब थियो। आत्माहरुसँग कुराकानी गथ्र्यो। नशा, भांग सबै खान्थ्यो। हामी प्रत्येक महिना मासिक रोग विशेषज्ञ चिकित्सकसँग जाँच पनि गराउँछु।’
शर्माले चार÷पाँच दिन देखि राजकुमारलाई रुघाखोँकी भएको भन्दै कफ भएपछि स्वाँस लिख समस्या भएपछि समर अस्पतालमा पठाएकोमा त्यहाँ अक्सिजन चढेपछि चिकित्सकले अहिले ठिक रहेको र एक/डेढ घण्टा हेर्न भनेको बताए।
‘राजकुमारलाई पुनः समस्या भएपछि प्रादेशिक अस्पतालमा पठाएकोमा जाँचको क्रममा यो दुःखद घटना भयो’, उनले भने।
युवकको मृत्यु पश्चात पोष्टमार्टभ भएपछि अन्तिम संस्कार गरिएको छ।