
विराटनगर- विराटनगर विमानस्थलबाट प्रहरीले एक ब्यक्तिको साथबाट अमेरिकी १ सय डलरको ८१ थान नोट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति करिब ८ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नारायण चिमरियाले काठमाडौँ जाने तयारीमा रहेका अन्सारीको साथबाट अवैध रूपमा बोकेको अमेरिकी डलर बरामद गरेको जानकारी दिए ।
यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा रहेका अन्सारीलाई चेकजाँचका क्रममा कोटबाट प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम सुवेदी नेतृत्वको टोलीले अमेरिकी डलर फेला परेको थियो ।
प्रहरी प्रमुख चिमरियाले बरामद गरिएको डलर नेपाली रूपैयाँ ११ हजार १९४ बराबर हुने बताए। घटनाबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन् ।
केही समयअघिसम्म कतार बसेर आएको बताएका अन्सारीले कतारमा बस्ने र नेपाल आउने-जाने गरेको उल्लेख गरेका छन्।