
सिमकोट – हुम्लामा तरकारीको मूल्य घटेको छ। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुको दोजाम कर्णाली नदीमा पानीको बहाव घटेर मालवहाक गाडीहरु नदी तरेर सदरमुकाम सिमकोटसम्म सिधै आउन थालेपछि तरकारीको मूल्य घटेको हो ।
सिमकोट बजारकी लप्टी शेर्पाले बजारमा तरकारीको भाउ सस्तिएको बताइन्। जिल्ला बाहिरबाट आयात हुने सबै प्रकारका तरकारीको मूल्य घटेको बताउँदै उनले यसबाट उपभोक्तालाई राहत मिलेको बताइन्।
गत वर्षको तुलनामा यसवर्ष एक सय प्रतिशतसम्म तरकारीको मूल्य घटेको उनको भनाइ छ। गत मंसिर महिनायता जिल्ला बाहिरबाट आयात हुने सबै प्रकारको तरकारीको मूल्य प्रतिकेजी २० देखि ५० रुपैयाँसम्म घटेको छ।
सिमकोट बजारमा तरकारी बिक्री गर्दै आएका नरेन्द्र शाहीले प्रतिस्पर्धात्मक बजारका कारण तरकारीको मूल्य घटेको बताए।
नेपालगञ्ज र सुर्खेतमा तरकारीको मूल्य घटेकोले पनि हुम्लामा त्यसको प्रभाव परेको उनको भनाइ छ।
यतिबेला सिमकोट बजारमा प्याज प्रतिकेजी १५० रुपैयाँ, गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, अदुवा र लसुन प्रतिकेजी ४०० रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी २५० रुपैयाँ, बन्दा प्रतिकेजी १३० रुपैयाँ रहेको छ।
त्यसैगरी काउली प्रतिकेजी १३०, काक्रो प्रतिकेजी २००, गाँजर प्रतिकेजी २५०, लौका प्रतिकेजी १५० र फर्सी प्रतिकेजी १५० रुपैया छ।