
काठमाडौँ- नेपाल र म्यान्मारका महिला फुटबल टोलीबीच दशरथ रंगशालामा ६ बजे सुरु अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनल खेल हेर्न एक घन्टा अगाडि नै ठूलो संख्यामा दर्शक पुगिसकेका छन्।
नेपाली खेलाडीहरूको उत्साह बढाउन ठूलो संख्यामा महिला, बालबालिकासहितका दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन्।
नेपाली राष्ट्रिय महिला टिम लगातार भोग्दै आएको फाइनल हारको अन्त गर्ने प्रयासमा बुधबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। चार देश सहभागी अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा नेपालले म्यानमारको सामना गर्न लागेको हो। साँझ ६ बजे दशरथ रंगशालामा सुरू हुने खेलका लागि नेपाली महिला टोलीका खेलाडीहरू दशरथ रंगशाला पुगिसकेका छन्।
नेपाल अहिलेसम्म खेलेको विभिन्न प्रतियोगिताहरूमा कुल १२ पटक फाइनलमा पुगे पनि सधैं उपाधिविहीन रहँदै उपविजेतामा सीमित हुनुपरेको छ। निराशाजनक फाइनल हारले नेपाली महिला टिमको यो स्वर्णिम पुस्ता उपाधिबिनानै करिअर अन्त हुने चिन्तामा पुगेका छन्। बुधबारको खेलमा नेपालको जित लगातारको हारको पीडा अन्त्य गर्ने अचूक मल्हम बन्नेछ।
नेपाली टिमका कप्तान र प्रशिक्षकले म्यानमारसँग फाइनल खेलका लागि तयार भएको र उपाधि बाहेकको विकल्प आफूले नसोचेको बताएका थिए। फाइनलअघि भएको प्रि-म्याच प्रेस कन्फ्रेन्समा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणका तीनै खेलमा राम्रो प्रदर्शन गरेको बताएका थिए।
तस्बिरहरू: