
काठमाडौँ- बर्दिया राजापुर नगरपालिकाको तिग्रा गाउँकी निरमाया थारु सामान्य गृहिणी हुन्। राजापुर नगरपालिका–३ तिग्राका निरमायाजस्ता महिला अचेल घरधन्दासँगै आम्दानी पनि गर्न थालेका छन्।
४७ वर्षकी निरमायाले बोकेको बच्चा भने उनको नाति हो। उनका ३ जना छोरा छन् । छोराहरू कमाउनका लागि बाहिर जान्छन्। अनि उनको पिठ्यूँ नातिका लागि न्यानो काख बनिदिन्छ।
तर, उनी नातिनातिना खेलाएर मात्रै समय बिताउँदिनन्। बरु आफूजस्तै महिलासँग मिलेर निरमाया आफ्नै खेतबारी र पाखामा उम्रिने बनस्तपति प्रयोग गर्दै ढकिया पनि बुन्छिन्।
थारु संस्कृति झल्किने ढकिया आजभोलि सबैले प्रयोग गर्ने सामग्री बनेको छ। सजावटदेखि विभिन्न सामान राख्न प्रयोगमा आउने हातबुना यस्ता ढकिया अहिले भने व्यावयासिक पनि हुन थालेका छन्।
कुनै बेला थारु समुदायले यस्तो ढकिया घरमा आफैँले बुन्थे अनि आफ्नै घरका लागि मात्रै प्रयोग गर्थे। घरमा सामान राख्न अनि चेलीबेटीलाई कोसेली पठाउँदा यस्तै ढकिया प्रयोग हुन्छ। तर अब निरमायाहरूको यो परम्परागत सीप बजारमा पनि बिक्न थालेको छ।
‘यो त हामीले पहिलादेखि नै बुन्थ्यौं’, निरमाया भन्छिन्, ‘तर अब बजारमा बेच्ने हिसाबले बनाउँछौं।’ यसबाट थारु समुदायको संस्कृति र परम्परा मात्रै जोगिएको छैन बरु महिलाको अतिरिक्त आम्दानीको स्रोत पनि बनेको छ।
आफूलाई चाहिने चुरा–टिकी किन्नका लागि उनी पहिला श्रीमानसँग पैसा माग्थिन्। अब त्यस्तो गर्नै पर्दैन। परम्परागत रुपमै सिकेको यो सीपले अब निरमायाहरू आर्थिक रुपमा आत्मनिर्भर छन्।
‘अब चुरा–टिकी किन्नकै लागि श्रीमान्सँग पैसा माग्नुपर्दैन, बरु श्रीमानई दिन्छु,मैले नाति–नातिना खेलाउँदा खेलाउँदै अब ढकिया बुन्न सक्छु र त्यही बेचेर पैसा पनि कमाउँछु’, अब निरमायासँग यति आत्मविश्वास छ कि ‘घरखर्चका लागि पनि यसैको आम्दानीले सहयोग गरेको छ। पहिला घरमै हुन्थे अब बेचेर पैसा पनि कमाइन्छ।’
घरको आँगनमा एउटा खटियामा बसेर दुखनी थारु पनि ढकिया बुनिरहेकी थिइन्। ५० वर्षकी उनी घरका सारा काम सकेर फुर्सदमा ढकिया बुन्छिन्।
डब्ल्यूडब्ल्यूएफको आर्थिक सहयोगमा मुक्त कमैया महिला विकास मञ्चले निरमाया अनि दुखनीजस्ता धेरै महिलालाई आधुनिक ढकिया बनाउने तालिम दिएको थियो। त्यसपछि अब भने यी महिला बजारमै बेच्न सकिने खालका ढकिया उत्पादन गर्न सक्ने भएका छन्।

दुखनी थारु
यो उत्पादनका लागि त्यति धेरै लगानी पनि चाहिँदैन। त्यति धेरै समय पनि दिनु पर्दैन। घरधन्दा सकेर फुर्सदको समयलाई निरमाया अनि दुखनीहरूले यसैगरी आम्दानीको माध्यम बनाइरहेका छन्।
त्यही पैसाबाट उनीहरूले आफूलाई चाहिने सामानहरू खरिद गर्न सक्ने भएका छन्। घरखर्चका लागि धेरथोर योगदान गर्नसक्ने भएका छन्। ‘मैले त बुहारीलाई चाँदी पनि किनिदिएको छु’ दुखनीहरूको खुसी अनि सन्तुष्टि यसरी नै झल्किरहेका छन्, राजापुर नगरपालिकाको गाउँमा।