
विराटनगर- सुनसरीको धरानमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
बुधबार मध्यरात इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।
त्यस क्रममा २ सय २५ किलोग्राम गाँजासहित १ जनालाई नियन्त्रणमासमेत लिएको छ । टोलीले धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा गोली चलाएको हो ।
विशेष सूचनाकाे आधारमा टोलीले गाँजा बोकेर पैदल नै आउँदै गरेका व्यक्तिमा छानविन गरेका थिए । प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू फरार भएको प्रहरी सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा प्रहरीलाई देखेपछि विष्णुपादुकाबाट रेल–वेतर्फको चारकोषे झाडीभित्र गाजाको पोका फालेर उनीहरू फरार भएका थिए ।
यसक्रममा प्रहरीले फरार भएको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको उनले बताए । प्रहरी उपरीक्षक तिम्सिनाले ‘टाइप–५४’ पेस्तोलबाट ३ राउण्ड हवाईफायर गरिएको बताए ।
त्यससँगै, धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले ९ वटा बोरा बरामद गरेको छ ।
बोराभित्र २ सय २५ किलाग्राम गाँजा रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । उनले भने, ‘९ वटा प्लाष्टिकका बोरामा ‘प्याक’ गरेको गरिएको २ सय २५ किलो गाँजासहित १ जनालाई पक्राउ गरिएको छ । अरु फरार रहेकाले खोजी जारी राखेका छौं।’