
जनकपुरधाम – धनुषामा ८० लाख लुट्ने गिरोहका एकजना १० महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ३ बस्ने ४० वर्षीय भरतकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
महतोलाई बुधबार पक्राउ गरी धनुषा जिल्ला अदालतको निर्णयले पुर्पछको लागि सिन्धुली कारागार चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए। यस लुटपाटमा संलग्नहरुलाई पहिला नै पक्राउ गरिएको थियो।
गत बैशाख २४ गते बिहान करिब साढे ११ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका २ स्थित रहेको हिमालयन बैँकबाट ८० लाख रुपैयाँ निकाली शुभ श्री बचत ऋण सहकारी संस्था लिमिटेड रघुनाथपुर गइरेका जनकपुरधाम १३ बस्ने ५५ वर्षीय बिरेन्द्र महतोलाई हतियारधारी समुहले पैसा लुटेका थिए।
ज ७ प ५१५१ नम्बरको मोटरसाइकलमा श्रीमतीसँगै रघुनाथपुर गइरहेको वअस्थामा जनकपुरधाम १९ थुमहौना स्थित सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलमा आएका तीनजनाको समूहले पेस्तोल देखाई ८० लाख रुपैयाँ लुटेर फरार भएका थिए। यस घटनामा संलग्न रही फरार रहेका महतोलाई प्रहरीले पक्राउ गरेको हो।