
घर छेउको करेसाबारी। कुनैबेला उनले त्यसै रोप्थिन्, मौसमअनुसारका तरकारीहरू। खुर्सानी, आलु, गोभी, गोलभेंडा यस्तै यस्तै।
मौसमी तरकारीहरू फलिरहेकै हुन्थे, उनको बारीमा। तर, समय फेरियो। कालान्तरमा उनी आफ्नै भान्सामा पाक्ने तरकारीहरु अरूका घरभान्साहरुमा पुगाउन थालिन्। असलमा उनी व्यवसायिक कृषक बनिन्।
०००
बर्दिया गेरुवाकी सुधा चौधरीको यही तरकारीबारी हो, जहाँ उनले उब्जाएका तरकारीहरु धेरैको भान्सासम्म पुग्छन्। जबकि कुनै समय भने उनी आफ्नो भन्साको लागि मात्र तरकारी फलाइरहेकी हुन्थिन्।
केही दिनअघि हामी उनको खेतबारीमै पुगेका थियौँ। उनको घरमा पुग्दा हातखुट्टा माटोले हात लत्पतिएका थिए। मानौँ, उनी भर्खरै करेसाबारीबाट फर्केकी हुन्।
केहीबेरपछि उनले हामीलाई आफ्नो खेतबारीमा पुर्याइन् जहाँ खुर्सानी लटरम्म फलिरहेको थियो। छेउमा भर्खरै जमिनमुनिबाट निकालिएका ताजा आलु थिए। उनको बारी खुर्सानीले छपक्कै ढाकिएको थियो। जबकि कुनै बेला मौसमी तरकारी बाली मात्रै उब्जन्थे। अचेल भने उनको बारी खाली हुन्न। मौसमी होस् वा बेमौसमी, बाह्रै महिना फलिरहेकै हुन्छन्।
छाक टार्न मात्र तरकारी फलाउने सुधालाई व्यावसायिक कृषक बनाउने आइडिया भने डब्ल्यूडब्ल्यूएफको हो। सुधाजस्तै थुप्रै महिलाहरुलाई यही आइडियाले व्यावसायिक कृषक बनाएको छ । त्यसका लागि कर्णाली नदीमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजनाअनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र नेपाल सरकारको समन्वयमा बेलायत सरकारअन्तर्गत डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा उनीहरूलाई केही हप्ताको तालिम दिएको थियो।
यही तालिम थियो, जसले परम्परागत रुपमा तरकारी उमार्दै आएका सुधाजस्ता गृहणीहरुलाई व्यावसायिक कृषक बनायो। अब उनले फलाएका तरकारीहरू मात्रै उनको भान्सामा सीमित छैन, बजारसम्म पुगिरहेका छन्। उनले तयारी खुर्सानी मात्रै होइन, बरु खुर्सानीका बेर्ना पनि बेचेर थप आम्दानी गरेकी छन्।
यसबाट एकातिर सुधाको घरभान्सा पनि चलिरहेको छ। अर्कोतिर आम्दानी पनि भइरहेको छ। घर खर्च चलाउन अनि छोरीहरु पढाउन पनि त्यही घरबारीको तरकारी बेचेरै पुग्छ।
छोरीलाई सिए पढाउँदै
सुधाका चार जना छोरीहरू छन्। छोरीलाई उच्च शिक्षा पढाउन सुधालाई यही तरकारीबारीले सघाइरहेको छ । पहिले पहिले भने उनी ऋण लिएर छोरीहरुलाई पढाइ रहेकी हुन्थिन्। अहिले अवस्था त्यस्तो छैन। आम्दानी जुटाइरहेको छ।
सुधाका दुई छोरी काठमाडौँमा पढ्छन्। एउटी छोरी चार्टर्ड अकाउन्टेन्ट पढ्दै छिन्। उनलाई सिए पढाउने, थोरबहुत खर्च उनले तरकारीबारीबाटै जुटाइरहेकी हुन्छिन्। एउटी छोरी नेपालगन्ज र एउटीलाई आफैसँग राखेर पढाइरहेकी छन्।
‘पहिला पहिला घरभान्साकै लागि मात्रै तरकारी रोप्थ्यौँ,’ सुधा भन्छिन् ‘तालिमपछि मेरो जीवन फेरियो, तरकारी बेचेर आम्दानी गर्ने ठाउँमा पुगेँ। अहिले त्यही तरकारी फलाएर घरखर्च चलाइरहेछु।’
कर्णाली नदी छेउको यो गेरुवा गाउँमा सुधाजस्ता धेरै गृहणी महिलाहरूका लागि करेसाबारीहरू अहिले राम्रो आम्दानीका स्रोत बनेका छन्। अलिकति मेहनत र फुर्सदको समयलाई उत्पादनमा लगाउँदा आफ्नै करेसाबारीबाट पनि महिलाहरू आत्मनिर्भर हुनसक्छन् भन्ने उदाहरण सुधाहरू बनिरहेका छन्।