‘जोखिम र चुनौतीसँग प्रतिस्पर्धा नगरी राजनीतिमा सफल भइँदैन’

‘जोखिम र चुनौतीसँग प्रतिस्पर्धा नगरी राजनीतिमा सफल भइँदैन’
+
-

सप्तरीको ग्रामीण क्षेत्र तिलाठीमा जन्मिएर एमालेको राजनीतिमा लागेकी उषा झा यतिबेला चर्चामा छिन्। शुक्रबार एमाले मोरङ जिल्लाको १०औँ अधिवेशनबाट महिला उपसचिवमा निर्वाचित भएपछि झाको राजनीतिक जीवनले थप फड्को मारेको छ।

उनी भन्छिन्, ‘राजनीतिको यात्रा पहिले नै सुरु भएको थियो। तर, निर्वाचनमै होमिएर त्यसमा पनि विजयी भएर आउनुले थप ऊर्जा प्रदान गरेको छ।’

जन्म सप्तरीमा भए पनि ४३ वर्षीया झाको बाल्यकाल, शिक्षा सबै मोरङस्थित उर्लाबारी नगरपालिकाको भित्री गाउँ कीर्तिपुरमा भएको हो। सानैबाट हक्की स्वभावकी झा आफ्नो बुवाबाट राजनीतिमा प्रेरित हुँदै आएकी हुन्। एमालेको भ्रातृसंगठन अखिल नेपाल महिला संघबाट राजनीतिमा होमिए पनि झा सानैबाट जनचेतनामूलक कार्यक्रममा अभियानकर्मीको रूपमा सक्रिय रहँदै आएकी थिइन्।

सात वर्षको उमेरसँगै बुवा शिक्षक दिनेश्वर झाले लेखिदिने स–साना पर्चालाई समूहमा गएर सुनाउने गर्दा बोल्ने बानी परेको उनी सम्झिन्छिन्। उनी भन्छिन्, ‘बुवा क्रान्तिकारी शिक्षक हुनुहुन्थ्यो। उहाँकै प्रेरणाले यहाँसम्म आइपुगेको हुँ। राजनीतिबाट आमनागरिकलाई प्रत्यक्ष प्रभाव पार्न सिकाउने गुरुआमा बुवा नै हुनुहुन्छ।’

उर्लाबारीमा रहेको राधिका माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी झाले स्थानीय मदन भण्डारी प्रतिष्ठानबाट सिएमए अध्ययन पूरा गरिन्।
०५८ सालमा सिएमए अध्ययन पूरा गरेपछि थप अध्ययन गर्न उनी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा मानविकीतर्फ स्नातकमा जोडिइन्। यहीबाट उनीले विद्यार्थी राजनीतिलाई अघि बढाइन्।

जिल्लाको नवनिर्वाचित उपसचिव झा ०६२/ ६३ बाट औपचारिक रूपमा पार्टी सदस्यता लिएर राजनीतिको सक्रिय यात्रामा अघि बढेकी हुन्।

त्यसअघि, सामाजिक अभियन्ताकै रूपमा राजनीतिलाई अघि बढाएकी झाले भनिन्, ‘त्यसबेला राजनीतिमा महिला कसरी स्थापित हुने जोखिम थियो। पारिवारिक रूपमा राजनीति नगरेपछि, कान्छो भाइ पर्वतले धेरै सुझाव दिँदै आयो। राजनीतिमा जोखिम छ। जोखिमलाई पहिचान गर्दै अघि बढ्नुपर्ने र त्यसलाई आत्मसात् गर्न सक्नुपर्ने कुरा उसैले सिकाउँथ्यो। बुवाको चाहना छोरी नेतृत्वदायी होस भन्ने भए पनि भाइ र श्रीमान्को साथमा राजनीतिलाई सहजतापूर्वक अघि बढाउने प्रयास गरेको हुँ।’

शुक्रबार मात्र सम्पन्न भएको एमाले मोरङ जिल्लाको १०औं अधिवेशनमा विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीलाई १३ मतले पछि पार्दै झाले महिला उपसचिवमा जित निकालिन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षबाट नेतृत्व गरिरहेका विनोद ढकाल पक्षबाट चुनावी मैदानमा होमिएकी झाले ४ सय १८ मत हासिल गरेकी थिइन्।

उनले भनिन्, ‘निर्वाचन लड्ने मनस्थितिमा थिइनँ। उम्मेदवारी दर्ता गराउँदासमेत सर्वसम्मत हुने र पछि हट्नुपर्ने अवस्था थियो। तैपनि, नेतृत्वमा रहनुहुने शीर्ष नेताहरूको साथ सहयोगमा अघि बढेको थिएँ। महानगरकी उपमेयरसँग हुने प्रतिस्पर्धामा चुनौती थियो। तर, पछि सबैले साथ दिनुहुने र कम्तीमा एक मतले जित हासिल गर्छु भन्ने विश्वास थियो।’

भौतिकवादसँगै आध्यात्मिक क्षेत्रलाई बढी प्राथमिकतामा राख्दै आएकी झाले कर्म गरेअनुसार फल पाइने भए पनि आध्यात्मिक क्षेत्रले राजनीतिक जीवनलाई सरल र शान्त बनाइराख्न धेरै मद्दत गर्ने बताइन्।

उनी भन्छिन्, ‘म पूर्णरूपमा आध्यात्मिक महिला हुँ। यसमा मेरो लगाव बढी छ। चाहे जीवन होस् या राजनीति आध्यात्मिक क्षेत्रको चिन्तनले हामीलाई शान्त बनाइराख्छ।’

त्यसो त ३६ वर्षको उमेरमा झाले ०७४ सालको स्थानीय तह निर्वाचनमा रंगेली नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी थिइन्।

गठबन्धनबाहिर रहेर जोखिम मोल्दै पार्टीका लागि निर्वाचनमा होमिएकी झा पराजित भइन्। उनी भन्छिन्, ‘राजनीतिमा हार–जित हुन्छ। जितमा उन्माद नहुने तर हारमा मानसिक विचलनको अवस्था हुन सक्ने हुँदो रहेछ। मैले पनि स्थानीय तह निर्वाचनमा पराजय भोगँे। म विचलित हुन सक्थँे। तर, मलाई मेरो आध्यात्मले जोगायो। म ईश्वरप्रति आस्थावान् छु।’

राजनीतिमा महिलाले बढी संघर्ष गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘महिलाका लागि राजनीति गाह्रो छ। संघषपूर्ण छ, जोमिखयुक्त छ। यिनीहरूको घेराबन्दीबाट बाहिर निस्किएर राजनीतिमा लाग्न कठिन छ। यसको घेराबन्दीबाट निस्कनसमेत गाह्रो छ।’

स्थानीय तह निर्वाचनमा पराजय व्यहोरे पनि उनका श्रीमान् दिनेशलाल ठाकुरले घरभित्र र बाहिर साथ दिइरहे। राजनीतिमा होमिन उनले पनि प्रेरणा दिँदै आएको उनले बताइन्।

उनले भनिन्, ‘आज हामी मधेशीमूलका महिलालाई यहाँसम्म आउन निकै सकस हुन्थ्यो।’ स्थानीय तह निर्वाचनमा पराजित भए पनि उनलाई पार्टीले अर्को एक अवसर दियो। मधेशीमूलबाट अघि बढ्दै गर्दा राजनीतिलाई नजिकबाट बुझेकी झालाई २०७९ जेठ ३१ गते पार्टीले जिल्ला समन्वय समिति मोरङको उपाध्यक्षमा नियुक्त गर् यो। उपाध्यक्षले समितिको काम अनुगमनलाई बढी केन्द्रित गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘समितिमा समन्वयकारी भूमिकामा रहे। अनुगमन केन्द्रित हुँदा धेरै विषयलाई समेट्न सकिएन। अझै पनि पार्टीको कामसँगै आमजनताको काममा खटिन प्रयासरत छु।’

पार्टीगत जिम्मेवारीमा हाल उनी अनेमसंघकी मोरङ उपाध्यक्ष रहेकी छिन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?