
सिमकोट- वर्षेनी रुपमा भई रहेको विपद्जन्य घटनाहरुका लागि तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको छ ।
वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका हुन् ।
पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघर प्रेदेशलाई हस्तान्तरण गरिएको गृहमन्त्री लेखकले कार्यक्रममा जानकारी दिए ।
भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर, अन्य दुर्घटना लगाएतका बिभिन्न किसिमका जोखिममा रहेकाले तीन तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक रहेको मन्त्री लेखकले बताए । यस्तै कर्णाली र सुदूरपश्चिममा गतवर्षको भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण गर्ने काम भइरहेको जानकारी उनले दिए ।
अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रूत गतिबाट काम भइरहेको छ । कार्यक्रममा कर्णालीका मुख्यमन्त्री कँडेलले संघीय सरकारले गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको जानकारी दिए ।
ढिलो भएप्नि यो गर्न आबश्यक रहेको उनको भनाई थियो । भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको छ ।