
हुम्ला- जाजरकोटको कुशे गाउँपालिका- ८ ग्राक्लीको एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ ।
ग्राक्ली बस्ने जनक रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार गएराति १२ बजेको समयमा ६ कोठा भएको दुई तले कच्ची घरमा आलगाली भएको थियो ।
घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका जनकका छोरा अम्मरको जलेर मृत्यु भएको उनले बताए ।
उक्त आगलागीबाट घर पूर्णरुपमा जली घर भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, आठ आनाको सुनको तिलहरी र नगद एक लाख २५ हजार समेत जली नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान चार बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।