
एक मात्र उड्ने स्तनधारी प्रजाति हो चमेराे। यो कहीँ रूखमा झुन्डिएको अवस्थमा देखिन्छ भने कहीँ गुफालगायतमा पनि भेटिन्छ। यो केही द्वीप तथा उत्तरी र दक्षिणी ध्रुवबाहेक, संसारभरि पाइन्छ।
संसारमा पाइने १४ सयभन्दा बढी प्रजातिमध्ये नेपालमा ५५ प्रजाति रहेको साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउण्डेसन (एसएमसीआरएफ)का कार्यकारी निर्देशक सञ्जन थापाले जानकारी दिए। चमेरामा अनुसन्धान गरेका थापाका अनुसार चमेरा अँध्यारोमा उड्न र चरिचरन गर्न सक्छन्।
चमेरालाई अलिक रूढीवादी रूपमा नकारात्मक चित्रण गरिए पनि यो निकै महत्त्वपूर्ण रहेको उनी बताउँछन्। चमेराले फलफूल तथा अन्य बिरुवाको फलमा परागसेचन गर्छ। बिज छर्ने तथा जंगल विस्तारमा यसकाे महत्त्वपूर्ण भूमिका हुन्छ। बालीनालीमा लाग्ने किराफट्याङ्ग्रा खाने गर्छ।
लामखुट्टे, भुसुनाजस्ता मानवलाई राेग सार्ने जीव उसकाे आहारा हुने गर्छ। चमेराको विष्टा उत्कृष्ट प्राङ्गगारिक मल मानिन्छ। जसरी पहिला काठमाडौंलगायत अन्य ठाउँमा चमेरा देखिन्थे, अहिले चमेराकाे संख्या निकै घटेकाे उनी बताउँछन्।
‘याे संख्या घट्नुमा सहरीकरण नै प्रमुखन कारण हो,’थापाले भने, ‘ बिजुलीको तारमा करेन्ट लागेर पनि चमेराकाे संख्या कम भएकाे हाे।’
काठमाडौं उपत्यका बाहिर विभिन्न गुफामा मानिसको आवतजावत हुन थालेपछि पनि यसकाे संख्या घटेकाे उनकाे भनाइ छ।
काठमाडौं उपत्यकामा देखिने ठूलो चमेरा हो। तराईको विभिन्न क्षेत्रमा चमेरा पाइने गर्छ भने, चुरेमा, भित्री मधेश र मध्यपहाडकाे बीचमा पाइन्छ। तर, उनीहरू आहाराको लागि मुस्ताङसम्म पुग्ने गर्छन्। चमेरा मानवको लागि पनि महत्वपूर्ण देखिन्छ त्यसैले यसकाे संरक्षण गर्नुपर्ने कार्यकारी निर्देशक थापा बताउँछन्।