
धनगढी – कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी पार्टी भए पनि मिलेर काम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। उनले वर्तमान संविधान समावेशी, राष्ट्र नै समावेशी पद्धतिमा चलेका कारण कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर काम गर्नुको विकल्प नरहेको बताए।
सोमबार धनगढीमा सुरु भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनको उद्घाटन गर्दै देउवाले अहिलेकै निर्वाचन प्रणाली रहिरहे आगामी निर्वाचनमा पनि एकै पार्टिको बहुमत आउने सम्भावना कम रहेको बताए।
उनले भने, ‘सम्भावना कम छ तर आपसी मतभेद, आपसी प्रतिस्पर्धा अलग राखी निर्वाचनमा एकजुट भए नेपाली कांग्रेसको बहुमत
आउन सक्छ, यसको सुरुवात सुदूरपश्चिमबाट होस्।’
सभापति देउवाले सुदूरपश्चिमको माया ममताले आफूले अहिलेको उचाइ प्राप्त गरेको बताउँदै भने, ‘कांग्रेसलाई कहिल्यै कसैले हराउन सक्दैन तर हाम्रो पार्टीभित्र अन्तरघातको रोग छ त्यसलाई सदाका लागि अन्त्य गर्नुपर्छ।
कांग्रेसले गरेका राम्रा कामको जनतामाझ प्रचार गरौः उपसभापति खड्का
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा भएका राम्रा कामको जनतामाझ प्रचार गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण, नीतिबारे जनतालाई बुझाउनुपर्ने त्यसमा कमी भएको बताए।
उनले भने, ‘पार्टीभित्र केही समस्या छन् तर ती समस्याको समाधान सडकमा कराएर हुँदैन, पार्टीभित्रै सभापतिको नेतृत्वमा छलफल गरेर समाधान हुन्छ गर्छौं।’
देशमा रहेका समस्या पनि कांग्रेसले समाधान गर्न सक्छ भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ छ। उपसभापति खड्काले पार्टीभित्रको अन्तरघातको रोगबाट मुक्त गर्ने हो भने २०८४ को निर्वाचनमा काँग्रेसलाई तिनै तहमा एक नम्बरको पार्टि बनाउन कसैले रोक्न नसक्ने बताए।
अवस्था बदल्छौँ भनेर बाचा गर्याैँ तर नसक्दा जनतामा असन्तुष्टिः महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदल्छौँ भनेर जनताको साथ माग्यौँ तर व्यवस्था बदल्दा पनि अवस्था नबदलिएपछि जनतामा असन्तुष्टि बढेको बताए। उनले अब जनताका ती असन्तुष्टि सम्बोधन गर्नेतर्फ कांग्रेस लाग्नुपर्ने बताए।
उनले भने, ‘राष्ट्रका समस्या समाधान गर्न सक्ने पार्टी मात्र राष्ट्रिय पार्टी हो, त्यो कांग्रेसले गरिरहेको छ, अझै गर्छ त्यसैले जनताको बिश्वास छ।’ महामन्त्री थापाले सुदूरपश्चिम कांग्रेसका लागि पावर हाउस रहेको बताए। उनले सुदूरपश्चिमका जनताले नेपाली कांग्रेसलाई सुख–दुःखमा सधैँ साथ दिएको बताए। उनले भने, ‘जसले सुदूरपश्चिमलाई माया गर्छ उसलाई सुदूरपश्चिमेलीले माया गर्छन्।’
कांग्रेसको जन्म नै नेपाली जनताको हितका लागि भएको भन्दै महामन्त्री थापाले कांग्रेसलाई त्यसमा बिचलित हुने छुट नभएको उल्लेख गरे। उनले राजाबादीको आन्दोलनतर्फ लच्छित गर्दै भने, ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, कसैले कुचेष्टा नगरे हुन्छ।’
महामन्त्री थापाले नागरिकले परिणाम खोजिरहेका त्यो दिने जिम्मा कांग्रेसको रहेको बताउँदै मति र गति ठीक भयो भने जनताको आक्रोशको आगो मर्दै जाने उल्लेख गरे।
राजाको शासनमा लेख्न, बाेल्न पाइँदैनथ्योः महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजाको शासनका पालामा लेख्न, बाेल्न नपाएको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए। उनले राजा ल्याउने कुरामा जनताले बुझ्न नसकेको राजाका पालामा भएका गलत क्रियाकलाप बुझाउन आवश्यक रहेको बताए। महामन्त्री शर्माले कांग्रेसले गम्भीरतापूर्पक नेतृत्व गर्न आवश्यक रहेको बताउँदै भने, ‘चोकमा बसेर कांग्रेसका नेता कार्यर्ता पनि निराशाका कुरा गरिरहेको त्यो राम्रो होइन। त्यो चिर्नु कांग्रेसको दायित्व हो।’
अघिल्लो कार्यकालभन्दा यो कार्यकाल सभापति शेरबहादुर देउवाको गतिशीलता बढेको शर्माको भनाइ छ। महामन्त्री शर्माले भने, ‘हाम्रो सभापतिले सबैलाई बनाउनुभयो अब कांग्रेसको अर्को नेतालाई प्रधानमन्त्री बनाउँदा सुदूरपश्चिमले अचम्म मान्नु पर्दैन।’