
चितवन– जिल्लामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा करिब एक हजार मेट्रिकटन तोरी उत्पादन वृद्धि भएको हो।
कृषि विकास कार्यालय चितवनका अनुसार यस वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको छ। कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार यस वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो।
गत आर्थिक वर्षमा १३ हजार ६४२ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो। सो वर्ष १७ हजार ५९८ दशमलव १८ मेट्रिकटन तोरी उत्पादन भएको उनले बताए।
आर्थिक वर्ष २०७९/०८० मा १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार एक सय आठ मेट्रिकटन तोरी उत्पादन भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा १२ हजार दुई सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो। आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार आठ सय ६२ मेट्रिकटन तोरी उत्पादन भएको थियो। क्रमशः तोरी उत्पादन र खेती गर्ने क्षेत्रफल विस्तार भएको हो।
कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुबै वृद्धि भएको हो। उनले भने, “निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जङ्गली जनावरले क्षति नपु¥याउने भएकाले पनि तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो।”
तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए। कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा झरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ। बजारमा तेलको मूल्य वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानलाई तोरी खेती तर्फ आकर्षित गरेको कँडेल बताउँछन्।
चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ। चितवन तोरीका लागि प्रख्यात जिल्ला हो। केही वर्षअघिसम्म क्रमशः घट्दै गएको तोरी उत्पादन पुनः बढ्न थालेको हो।