
धनगढी- नेपाली कांग्रेसको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ। प्रशिक्षणको कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अघि बढाउन आवश्यक रहेको बताए। उनले पार्टीलाई एकढिक्का बनाउँदै ०८४ मा केन्द्रित भएर काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।
सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन आपसमा मेलमिलाप, समझदारी कायम गरी जनताको मन जितेर एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए।
सुदूरपश्चिम प्रदेशबाटै जितको लहर ल्याउने गरी अहिलैदेखि निर्वाचनको तयारी पनि सभापति देउवाले निर्देशन दिए। उनले प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जाँगर ल्याउने विश्वास समेत ब्यक्त गरे।
उद्घाटनका क्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रदेश सभापति वीरबहादुर बलायरलगायतले पार्टीलाई बलियो बनाएर लैजानु पर्ने बताउँदै त्यसका लागी सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने उल्लेख गरे।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरी डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ।
प्रशिक्षण कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्ने कांग्रेस प्रदेश समितिले जनाएको छ।
सभापति देउवा महायज्ञमा सहभागी
कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री देउवा धनगढीमा संचालन भइरहेको महायज्ञमा समेत सहभागी भएका छन्।
सुदूरपश्चिम साहित्य समाजद्वारा आयोजित महायज्ञमा मंगलबार दिउसो सहभागी भएर सभापति देउवाले शुभकामना दिए।
शुभकामना दिँदै सभापति देउवाले नेपाल धार्मिक देश भएकाले यस्ता यज्ञ महायज्ञले सबैलाई जोडने बताए। उनले हिन्दु बाहुल्य भएको देशमा धार्मिक गतिबिधि बढेमा धार्मिक प्रर्यटकको समेत संख्या बढने र यसले राष्ट्रलाई फाइदा पुग्ने बताए ।
सो अवसरमा सभापति देउवाले कथा बाचिका राधिका दासीबाट प्रसादसमेत ग्रहण गरे।