
नेपालगञ्ज- जयेन्दु बालसुधार गृहमा झपड, ताेडफाेड, आगजनी, लुटपाट गर्नेलाई अर्काे मुद्दा लगाउने गरी अनुसन्धान अघि बढाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले हिंसामा उत्रिएका ४० जनालाई नाैबस्ता बालसुधार गृह पठाएकाे छ भने २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेकाे छ ।
यिनीहरुलाई अनुसन्धान गर्ने र झडप, ताेडफाेड, आगजनी, लुटपाट गर्नेलाई थप मुद्दा लगाउने गरी कारबाही प्रक्रिया अघि बढेकाे बाँके प्रहरीका प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।
शुक्रबार रातिदेखि भएकाे झडपमा घाइते भएका सबै जना डिस्चार्ज भएका छन् । प्रहरीले केही दिनअघि तीन जना प्रहरीलाई कुट्ने ५ जना, शुक्रबार र शनिबार बालसुधार गृहमा झडप, ताेडफाेड, आगजनी र गाउँमा गएर पसल लुट्नेलाई कसुर अनुसारकाे कारबाहीका लागि कारागार विभागमा पत्र पठाउने जनाएकाे छ ।
झडपका क्रममा प्रहरीकाे एउटा माेटरसाइकल गायव पारिएकाे छ भने कारागारका कर्मचारीकाे स्कुटी ताेडफाेड गरिएकाे छ ।
१८ वर्ष उमेर पुगेका जतिलाई नाैबस्ता र जिप्रकामा राखिएपछि अहिले बालसुधार गृह शान्त रहेकाे छ ।