
धनगढी – चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमका ५८ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै छन्।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्णबहादुर बोहराका अनुसार सुदूरपश्चिमबाट ५८ हजार नाै सय ४४ विद्यार्थी एसइईमा सहभागी हुँदै छन्। जसमा छात्र २८ हजार ६६ जना र छात्रा ३० हजार आठ सय ७७ रहेका छन्।
बोहराका अनुसार सुदूरपश्चिममा साधारण (नियमिततर्फ) ४३ हजार नौ सय २३ जना, प्राविधिक धारतर्फ नियमित दुई हजार ९२ जना र ग्रेडवृद्धितर्फ १२ हजार नौ सय २८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
साधारण (नियमिततर्फ) छात्र २१ हजार दुई सय ९६ जना, छात्रा २२ हजार छ सय २७ जना गरेर ४३ हजार नौ सय २३ जना, प्राविधिक धारतर्फ नियमित छात्र एक हजार एक सय ४९ जना, छात्रा नौ सय ४३ जना गरेर दुई हजार ९२ जना र ग्रेडवृद्धितर्फ छात्र पाँच हजार छ सय २१ जना, छात्रा सात हजार तीन सय सात जना गरेर १२ हजार नौ सय २८ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ।
यस वर्ष एसइई दिनेमध्ये प्रदेशमै सबैभन्दा बढी कैलालीका विद्यार्थी र सबैभन्दा कम डडेल्धुराका विद्यार्थी रहेका छन्। कैलालीमा ५४ परीक्षा केन्द्रमा गरी नौ हजार दुई सय ७२ छात्र, १० हजार दुई सय १६ छात्रा गरेर १९ हजार चार सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।
डडेल्धुरामा १३ परीक्षा केन्द्रमा एक हजार तीन सय ३७ जना छात्र, एक हजार चार सय ६५ जना छात्रा गरेर दुई हजार आठ सय दुई जना विद्यार्थी परिक्षामा सहभागी हुँदै छन्।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा दुई सय २६ परीक्षा केन्द्र रहेका छन्। सूचना अधिकारी बोहराका अनुसार नौ वटै जिल्लामा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक परीक्षा साम्रगी सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको जिम्मा लगाइएको उनले बताए। सबै जिल्लामा केन्द्राध्यक्षहरू नियुक्त गरेर उनीहरुलाई अभिमुखीकरण गराइएको उनले बताए।