
धनगढी- डोटीमा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् ।
सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउद र उनकी श्रीमती अन्दाजी ६० वर्षीया दुर्का साउद घाइते भएको वडा अध्यक्ष दीपकबहादुर साउदले जानकारी दिए ।
स्थानीय पञ्जुके साउदका अनुसार गाउँबाट एक घण्टाको दूरीमा रहेको सौडीखेत स्थित खर्क(गोठ)मा सोमबार राति उनीहरूलाई भालुले आक्रमण गरेको हो ।
घटना स्थलमा अन्य कोही नहुँदा घटनाको बारेमा आज बिहान अबेर मात्र थाहा भएको उनले बताए । गाई-गोरुको हेरचाह गर्न बिहान छिमेकी गोठवाला सो ठाउँमा गएपछि मात्रै साउद दम्पती घाइते अवस्थामा फेला परेका हुन् ।
भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन् । अहिले उनीहरूलाई उपचारको लागि सिलगढी ल्याइँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।