बा आएपछि,
उज्यालो हुन्छ भन्नेमा ढुक्क थिएँ
आकाश छ्यांग खुल्ला हुन्छ भन्नेमा ढुक्क थिएँ
सूर्योदय नहुँदै बादलको तह एकपछि अर्को
अर्कोपछि अर्को थपिँदै गए
उज्यालो हुन,
सूर्योदयमात्रले पनि पर्याप्त नहुने रहेछ।
गोधुलीमा क्षितिजसम्म,
लालिमा नदेखिँदै,
पश्चिमको अर्को बादलको तह एकपछि अर्को
अर्कोपछि अर्को थपिँदै गए
अँध्यारो हुन,
सूर्यास्त भएर मात्र पनि नहुने रहेछ।
बा आएपछि
किन उज्यालो आएन?
बा आएपछि
किन बादल हटेन?
हिजोआज सुन्दैछु घरमा,
बाको आगमन र उज्यालो
बाको आगमन र बादल
यसमा के को कोरिलेसन छ र!
छ नि,
किन छैन?
पहिले बा आउँदा उज्यालो आउँथ्यो
बा जाँदा अँध्यारो आउँथ्यो।
त्यतिबेला,
उज्यालो मुहारमा हुन्थ्यो हाम्रो
उज्यालो घरमा हुन्थ्यो हाम्रो
उज्यालो टोलमा हुन्थ्यो हाम्रो,
कम्तिमा,
जीवन उज्यालो हुने प्रतीक्षामा
भविष्यको बाटो तय हुन्थ्यो ।
बा गएपछि,
त्यतिबेला,
बिस्तारै अँध्यारो भयो घर
छिमेकतिर बिस्तारै उज्यालो भयो घर
कान्ति उडेर,
मुहार मलिन भयो हाम्रो
शान्ति हटेर
कोठा चोटाहरु निष्पट्ट काला अँध्यारा भए हाम्रा
अँध्यारोमा धेरै कुराहरु हराए हाम्रा
अहिले उल्टो हुँदैछ,
छ नि,
बा र उज्यालो
बा र अँध्यारोको
कोरिलेसन ।
भेरियबल्सहरु परिवर्तन हुँदै गएपछि
सम्बन्ध पनि त परिवर्तन हुने रहेछ त,
पहिले अनुसन्धानमा नबुझेको कुरा
बल्ल बुझ्दैछु बा आएपछि र
अँध्यारो हुँदैछ बा!
बा आएपछि अँध्यारो भयो या,
अँध्यारो भएपछि बा आउनुभयो।
नढाँटी भन्नुस्न बा
उज्यालो फेरि आँउछ ?