
विराटनगर- मोरङको बेलबारी नगरपालिकामा जुवा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारीको १० नम्बर वडास्थित भाउन्नेको एक होटलमा शनिबार बेलुका प्रहरीले छापा मारेर १ लाख ५ हजार रुपैयाँसहित ८ जया जुवाडेलाई पक्राउ गरिएको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार सन्तोष याक्खाले सञ्चालन गर्दै आएको जुवा खालबाट तास खेलिरहेका बेलबारी–१० का ५८ वर्षीय दिलबहादुर तामाङ, ५३ वर्षीय पदमबहादुर भण्डारी, ४७ वर्षीय विष्णुकुमार दर्जी, ४५ वर्षीय विश्वकुमार याक्खा, ४५ वर्षीय बद्री विष्ट, ४० वर्षीय कमल डोटेल, ३९ वर्षीय लिलम लिम्बू र ३५ वर्षीय सुमन भण्डारीलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ८ बुङ ताससहित १ लाख ५ हजार ८० रूपैयाँ नगद बरामद गरिएको प्रहरी प्रमुख चिमरियाले जानकारी दिए । प्रहरीले छापा मार्ने क्रममा होटल सञ्चालक सन्तोष याक्खा फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ८ जनालाई नै इलाका प्रहरी कार्यालय बेलबारीमा हिरासतमा राखिएको र फरार याक्खाको खोजी भइरहेको प्रहरी प्रमुख चिमरियाले जानकारी दिए ।