
काठमाडौँ– तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ।
उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको थियो। सरकारी वकिलको कार्यालय, अदालत शनिबार बन्द हुने हुँदा उनीहरूलाई आज आइतबार सरकारी कविलको कार्यालयमा उपस्थित गराइएको हो।
आज बिहानै १० बजे सरकारी वकिलको कार्यालयमा उपस्थित गराउने तयारी भए पनि प्रहरीले ढिला गरी साँझ पाँच बज्नै लाग्दा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको हो।
सरकारी वकिलको कार्यालयमा उपस्थित गराउँदा अन्यलाई हत्कडी र थुनुवा जर्सी लगाइएको थियो भने सांसद राणालाई भने केही लगाइएको थिएन। राणालाई अन्य थुनुवासँग नलिएर प्रहरीको छुट्टै गाडीमा लिएको थियो।
थुनुवाहरूलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौँ लगिएको छ। अदालत लैजाँदा मिश्रको पनि हत्कडी खोलिएको छ भने सांसद राणासँगै छुट्टै गाडीमा लगियो।
अन्य थुनुवाहरूलाई भने प्रहरीको अर्को गाडीमा अदालतमा उपस्थित गराइएको छ।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजसंस्थापक्षधरहरूले गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु, तोडफोड, लुटपाट र आगजनी भएको थियो। सोही घटनापछि राणा र मिश्रसहित १०० बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
अन्यको पनि प्रहरीले खोजीकार्य गरिरहेको छ।
तस्बिरहरू: