
मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले चैतमा चोरी गरिएकामध्ये ६ वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको जानकारी दिए।
मोरङ प्रहरी प्रवक्ता जोशीका अनुसार दुवै जनालाई विराटनगरको अस्पताल चौक क्षेत्रबाट मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो।
दुवै जनाबाट चोरी भएका मोटरसाइकल नेपाल–भारतको सीमा क्षेत्र दरैया टिकुलिया बस्तीबाट बुधबार एकैपटक पाँच वटा मोटरसाइकल र एउटा स्कुटी बरामद गरेको प्रवक्ता जोशीले बताए।
चैत २६ गते पार्किङ क्षेत्रमा राखिएको मोटरसाइकल चोरी गरी लैजाँदै गरेका २४ वर्षीय मोहम्मद नौशाद अन्सारी र १७ वर्षीय मोहम्मद सोहेल आलमलाई प्रहरीले घटनास्थलबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक जोशीका अनुसार पक्राउ परेका दुवै जना विराटनगर १७ का हुन्।
प्रहरीले उनीहरुको साथबाट चोरीमा प्रयोग हुने मास्टर चाबी, मोबाइल, भारतीय र नेपाल सिमकार्ड, पाँच वटा विभिन्न कम्पनीको मोटरसाइकल र एउटा स्कुटी समेत बरामद गरेको छ।
पक्राउ परेका दुवैजनाले दिनको मध्यसमय १२ बजेबाट साँझको समयसम्म चोरी गर्ने गरेको स्वीकार गरेको जनाउँदै प्रहरीले चोरी गरिएका मोटरसाइकल भारततर्फ लगेर विक्रि गर्ने गरेको जानकारी दिएको छ।
प्रहरी प्रवक्ता जोशीका अनुसार चोरी गर्ने समूहले पुरानो सुपर स्प्लेण्डर, होण्डा साइन, एफजेड, डिस्कर लगायतका मोटरसाइकल मुख्य गरि चोरी गर्ने गरेको बताए। उनीहरुले विषेशगरि अस्पताल, होटल, अदालत, सरकारी कार्यालयलाई लक्षित गरि चोरी गर्ने गरेको पत्रकार सम्मेलनमा जोशीले जानकारी दिए।
प्रहरीका अनुसार चैत्रमा विराटनगर क्षेत्रबाट ११ वटा मोटरसाइकल तथा स्कुटी चोरी भएको कार्यालयमा उजुरी परेको छ। त्यसैगरि मंसिर महिनासम्म ६० वटा मोटरसाइकल चोरी भएको बताउँदै जोशीले मंसिर महिनामा चोरी गर्ने गिरोहका नाईके मानिएका नजाम अन्सारीलाई पक्राउ गरिएको बताए।
उनले भने, ‘मंसिरसम्म ६० वटा मोटरसाइकलको चोरी भएको अवस्था थियो। त्यसबेला प्रहरीले नजाम अन्सारी जो मोटरसाइकल चोरी गर्नेको नाइकेको रुपमा रहेका थिए। उनलाई पक्राउ गरिएको थियो। त्यसयता विराटनगरमा मोटरसाइकल चोरीको घटना रोकिएको थियो। यद्धपी, चैत्रमा पुनः चोरी हुन थालेपछि प्रहरीको विषेश अभियान थाल्दै दुईजनालाई पक्राउ गरेको हो।’