
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ।
उनी बिहीबार भारतको आसामबाट पक्राउ परेका थिए। उनलाई आजै झापा हुँदै हवाई मार्गबाट काठमाडौँ ल्याइएको हो।
उनलाई प्रहरीले हत्कडी लगाएर अदालत पुर्याएको छ। अदालत वरिपरि प्रहरीको उपस्थिति बाक्लो छ। त्यसक्रममा प्रहरीले पत्रकारलाई प्रसाईंको फोटो खिच्न अवरोध गरेको छ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलनको नेतृत्व गरेका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको थियो। प्रदर्शन उग्र बनेपछि तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो। प्रसाईं घटनालगत्तै फरार भएका थिए।