जसको चलचित्रमा द्वन्द्व र गीत होइन, समाज परिवर्तनको बलियो आवाज हुन्छ

+
-

गम्भीर सामाजिक कथाबस्तुलाई दृष्यको भाषामा व्यक्त गर्न निक्कै गाह्रो छ। तर यादवकुमार भट्टराई (५३) यस खालको चुनौतीलाई स्वीकार्दै आएका चलचित्र निर्देशकमा दरिन्छन्।

हाल ‘झिल्को’ चलचित्रका कारण चर्चामा रहेका यादवले एक दशकअघि कृष्ण धरावासीको कथा ‘झोला’ निर्देशन गरेका थिए। व्यावसायिक उछाल मार्ने सपना बोकेर फिल्म बनाउने होडमा लागिरहेका चलचित्र निर्माता, निर्देशकको भीडमा उनी भिन्न छन्। चलचित्र निर्देशक आफ्नो कथा भन्न स्वतन्त्र छन् तर यादव ती मौलिक कथा भन्न रूचाउँछन् जसमा गीत, द्वन्द्व हुँदैन, बरू हुन्छ, समाज परिवर्तनका लागि बलियाे दृष्य आवाज।

आफूले बाँचेको समाजको अति यथार्थ विषयलाई चलचित्रमा ल्याउने कोशिस उनको जुन हुटहुटी छ, त्यो बाल्यकालकाे समाज र प्रभाव ठान्छन् उनी। भन्छन्, ‘सायद मैले बाल्यकालमा जे देखेँ त्यसैको रिफ्लेक्सन हो।’

र, उनकाे बाल्यकाललाई नियाल्ने हो भने चालिसको दशक फर्किनु पर्छ।

स्कुल र नाटक:


झापाको बुधबारेमा २०३० सालमा जन्मिएका यादव २०३६ सालपछि बाआमासँगै शनिश्चरे पुगे। घरको माइलो छोरो खाइखेली शनिश्चरेमै हुर्किए।

शनिश्चरे माध्यमिक विद्यालयमा पढाइसँगै उनको संगत कलाप्रेमीसँगै बाक्लियाे। संयोगले कक्षा आठको विद्यार्थी छँदा यादवको संगत साेही स्कुलका माथिल्लाे कक्षाामा पढ्ने चलचित्रकर्मी उदय सुब्बासँग भयाे। यादवभन्दा चार-पाँच वर्ष जेठा सुब्बा स्कुलमा नाटक गर्थे। उनकै समूहमा यादवले ‘जिन्दगी’ शीर्षकको नाटक खेले। सुब्बाको निर्देशनमा बनेको नाटक खेलेर जब यादव बाहिर निस्किए, उनले दर्शकबाट नपत्याउँदो माया पाए। ‘नाटकमा अभिनय गरेर जब बाहिरिएँ, दर्शकको ‘रेस्पोन्स’ले मभित्र ‘चस्का’ हान्यो। त्यो बेग्लै ‘स्वाद’को थियो। अनि लाग्यो मैले गर्ने काम यही हो।’

झापाको शनिश्चरे माध्यमिक विद्यालयबाट एसएलसी दिएका यादवले केही समय सुब्बासँगै लागेर नाटकमा अभिनय गरे। तर उनको रुचि पत्रपत्रिकामा पनि थियो। स्कुल बाहिरको एक पसलमा नियमित पत्रिका पढ्ने अवसर पाएपछि पत्रकारितासँग लगाव बढ्दै गयो। संयोगले अग्रज कलाकार सुब्बा काठमाडौँतिर आएपछि उनी झापामा एक्लिए। नाटक गर्ने दिनहरू पनि पातलियो। अनि उनले पत्रकारितातिर लहसिए।

पत्रकारिताः


चालिसको दशक थियो। २०२८ सालबाट सुरु भएको झापा विद्रोहका क्रान्तिकारी नेताहरू कोही जेल, कोही भूमिगत, कोही आन्दोलनमै थिए। यस्तैमा कुनै समयका बन्दी, क्रान्तिकारी नेता तथा पूर्वसभासद् भीष्म धिमालसँग यादवको राम्रै उठबस थियो। १७ वर्ष जेल बसेका भीष्मको सल्लाहबमोजिम यादव पत्रकारितामा लागे। ‘मेरो पत्रकारिताको जग बिर्तामोडबाट सुरु भएको हो। बिर्तामोडको चोकमा मैले ठेलामा बेनाम पत्रिका बेचेँ। तर त्यो ६ महिनाभन्दा बढी चल्न सकेन,’ उनले भने।

झापाको गर्मी, बिर्तामोडको चोक, ठेलामा पत्रिकाको व्यापारले पार नलागेपछि यादवले ‘स्वतन्त्र आवाज’ साप्ताहिक पत्रिकामा काम गरे। झापाबाट प्रकाशित पत्रिकामा काम गर्दै उनले काठमाडौँका केही पत्रिकामा पनि समाचारहरू लेखी पठाउँथे। ‘त्यो बेला काठमाडौँ जाने लहरै थियो। तर आफू काठमाडौँ जान नपाए पनि समाचार चाहिँ पठाउने अवसर पाएँ,’ उनले त्यो दिनको अनुभव सुनाए।

यस्तैमा एकदिन उनले पठाएको समाचाार प्रतिपक्ष भन्ने साप्ताहिक पत्रिकामा छापियो। त्यही पत्रिकामा छापिएको समाचारले उनको यात्रा काठमाडौँतिर मोडियो।

काठमाडौँमा आएर उनले ६ वर्ष पत्रकारिता गरे। तर प्रिन्ट मिडियाबाट उनले भिडियोमा जम्प मारे। केही म्युजिक भिडियो बनाए। भिडियो बनाउने क्रममा उनले टेलिभिजन कार्यक्रम ‘भाका’ बनाए।

नेपाल टेलिभिजनमा समय किनेर जब ‘भाका’ कार्यक्रम चलाए अनि उनको चर्चा चुलियो। फिल्मकर्मीदेखि गीतसंगीतमा लाग्नेहरूको भीडले उनलाई खोज्यो। उनी भन्छन्, ‘भाकाले मलाई कलाप्रति काम गर्न अझै हौसायो। तर त्यो धेरै दिन टिकेन। र पनि ‘भाका’ कार्यक्रम मैले साठी भाग चलाएँ। पछि त्यहाँ कार्यक्रम छोडेर जागिर खाए।’

जागिरको कुरा गर्दा अभिनेता निर्देशक निर्माता नीर शाहको एक स्टुडियोमा काम गर्ने मौका पाए, जहाँ उनले सिके सम्पादन। पत्रकारितासँगै कलामा काम गर्दै जाँदा उनको संगत जुर्‍यो फिल्मकर्मीसँग। केही समय चलचित्रमा सानोतिनो भूमिका पनि गरे, जसका कारण चलचित्र लेख्ने, निर्देशन गर्ने सोच पलायो । भन्छन्, ‘चलचित्र नै बनाउनु पर्छ भनेर सोच्न थालेपछि झोला जुर्‍यो।’

झोला :


एक हिउँदको समय थियो। तीनकुनेको एक चिया पसलमा चिया पिइरहँदा अचानक लेखक नारायण ढकालले यादवलाई झोला पढ्न सुझाव दिए। ‘ए भाइ, फिल्म बनाउने भए झोला कथामा बनाऊ। त्यो कथा पढेको छ? छैन भने पढिहाल, नारायण दाइले जब मलाई भन्नुभयो अनि त्यही दिन झोला किताब खोजेर पढेँ,’ त्यो दिन सम्झिए उनले।

लेखक ढकालले भनेको केही घन्टामै नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर झाेला कथा किने, पढे। केही दिन निदाउनै सकेनन्। उनी भन्छन्, ‘झोला कथामाथि फिल्म बनाउने सपनाले मलाई खुबै बेचैन बनायो।’

लेखक कृष्ण धरावासीद्वारा लेखिएको झोला कथासंग्रह सतीप्रथामा केन्द्रित थियो, जुन राणा प्रधानमन्त्री चन्द्र शमशेरले एक शताब्दीअघि अर्थात १९७७ मा अन्त्य भएको घोषणा गरेका थिए।

सय वर्ष पुरानो कुप्रथालाई आजको समाजको समयमा खिँच्न निकै गाह्रो थियो। कथा राम्रो थियो। फिल्म बनाउन पहिला त लेखकसँग नै अनुमति लिनु पर्‍यो। उनी भन्छन्, ‘कृष्ण दाइसँग मैले पहिला फोन संवाद गरेँ। पछि उहाँ सूचना विभागमा केही काम परेर काठमाडौँ आउनुभएको थियो। त्यहाँ नै भेटेर दाइसँग लिखित अनुमति लिएँ। पहिला त दाइले पत्याउनै सक्नुभएको थिएन। तर हामी एकै गाउँको दाजुभाइ पर्ने भएकाले उहाँले अनुमति दिनु भयो।’

झोलामाथि फिल्म बनाउँछु भनेर हिँडेको सात वर्ष हुँदा पनि झोला खिच्न सकेनन् यादवले। अनि धरावासीले ‘फिल्म बनाउँदैन यादवले भन्दै हिँडे’ र चिन्नेहरुले पनि पत्याएनन्।

यादवका अनुसार धरावासीले झोला कथालाई रमेश बुढाथोकीको जिम्मा लगाएको रहेछन्। ‘कृष्ण दाइले झोला कथा रमेश दाइलाई फिल्म बनाउन दिने भन्ने सुन्नेबित्तिकै रोकेँ। कन्भेन्स गरेँ। त्यसको केही महिनापछि म फिल्म छायांकनमा गएँ।’

सतीप्रथामाथि फिल्म बनाएर कहाँ चल्छ भन्नेहरू पनि थिए। यसमा हिरो खै? हिरोइन खै? गीतै खै? फाइट खै? भनेर यादवलाई चौतर्फी सोध्थे। तर, यादव विचलित भएनन्। निरन्तर लगानीकर्ता खोजे। उनले केही साथी पाए। घर परिवारले पनि साथ दिए। अनि उनले झोलामाथि चलचित्र बनाइ छाडे।

यादवको निर्देशन तथा उत्तमकुमार श्रेष्ठको प्रस्तूति रहेको झोलामा देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, गरिमा पन्तको अभिनय थियो।

झोलाबाट दर्शकको मन जिते यादवले। ऐतिहासिक नेपाली मौलिक चलचित्र बनाए, जसले आर्थिक रुपमा लाभ दिएन तर यादवलाई चलचित्र निर्देशकमा रूपमा स्थापित भए। चलचित्रले राम्रै प्रतिक्रिया पायो। विभिन्न चलचित्र महोत्सवमा अग्रस्थानमा रह्यो। र सन् २०१४ को ओस्कार अवार्डमा सिफारिस भएको थियो।

झोलाले उनलाई खुब हौसायो। वाहवाही नै बटुले। तर उनले अर्को चलचित्र निर्माण गर्न निर्माता पाउन सकेनन्। निर्मता खोज्दाखोज्दै उनको वर्षौँ बित्यो। साथीहरू मिलेर उनले ‘भोर’ निर्माण गरे। मधेशको दाइजो प्रथामा लेखिएको कथा भोरले सोचेजस्तो व्यवसायिक सफलता पाएन। न त प्रतिक्रिया नै राम्रो पायो। उनी निराश भए। उनी भन्छन्, ‘झोलाबाट पाएको सकारात्मक प्रतिक्रियाले म साह्रै हौसिएको थिएँ र त भोर बनाएँ । तर भाेर चलेन निराश भएँ।’

तर यादवले हरेश खाएनन्। फिल्म फिल्म नै भनेर हिँडे। राम्रो कथाको खोजीमा निस्किए र उनलाई छोयो-डिजिटल एडिक्सनमा परेका बालबालिकाको कथा, जसमाथि ‘झिल्को’ चलचित्र बनाए। जुन २०८२ वैशाख १९ मा प्रदर्शनको तयारीमा छ।

झिल्को :


झापाका भट्टराई परिवारका यादवका दाजुभाइहरू आ-आफ्नो पेशा र रोजगारमा छन् तर उनी फिल्म नै भनेर कुदे। त्यसैमा भविष्य बनाउन खोजे र अहिले तेस्रो फिल्म झिल्कोलाई लिएर उत्साहित छन्। आफूले निर्माण गरेको फिल्म अत्यन्तै राम्रो छ र दर्शकले मन पराइदिने छन् भन्ने सपना देख्नु हरेक मेकरले साेच्नु स्वभाविक हो। तर हलमा प्रदर्शन भएको दुई दिनपछि फिल्मको ताकत थाहा हुन्छ। तर यादव उत्साहित छन्।

चलचित्रमा लागेर छोराछाेरी बिग्रियो भन्नेहरू अहिले पनि छन्। तर यादवको परिवारले साथ दिइरहेकै छन्। भन्छन्, ‘जीवनमा श्रीमतीको साथ नहुँदो हो त मैले झिल्को मात्रै होइन झोला पनि बनाउन सक्थिनँ हुँला!’

यादव, अरुणदेव जाेशी र देवव्रत मिलेर लेखेका हुन् झिल्काे। तर यादवले किन ‘झ’बाटै तेस्राे चलचित्रकाे नाम जुराए? भन्छन्, ‘याे साेचिसम्झी हाेइन। कथाले मागेकाे शीर्षक हाे।’

‘झ’बाट सुरु भएको झोलाले उनलाई निर्देशक बनाएको थियो। त्यसैले ‘झ’ फापेको महसुस पक्कै गरेनन् भन्न पनि सकिन्न।

स्पष्ट विचार राख्ने स्वभावका यादव झिल्कोलाई मन पराउने कारणहरू थुप्रै देख्छन्। बालबालिकाहरू अहिले मोबाइलका कारण दिनप्रतिदिन बिग्रिन थालेको र डिजिटल पहुँचलाई गलत प्रयोगका कारण घरपरिवारमा आएको दरारलाई झिल्कोमा देखाउन खोजेका छन्। मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजमा पार्ने असरलाई कलात्मक ढंगले प्रस्तूत गरेको दाबी गर्छन् यादव। भन्छन्, ‘झिल्को बालबालिकाका लागि पाठ हुन सक्छ। हरेक बच्चा र अभिभावकले हेर्ने चलचित्र बनेकाे छ।’

जसमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मुख्य भूमिका छ।

करोड लगानीमा चल्तीका कलाकार राखेर तडकभडकका साथ फिल्म बजारमा ल्याउने यो समयमा उनी चुपचाप हिँडिरहेका छन्। समय सान्दर्भिक विषयमाथि फिल्म बनाउन गरेको चुनौती अनेक छन् र पनि उनी भन्छन्, ‘फिल्म कति सफल होला त्यो भविष्यले बताउला तर मैले बनाउने चलचित्र यस्तै सामाजिक विषयबस्तु हो, जसले समाजलाई सही बाटोमा डोर्‍याउन सचेत गराउँछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?