मुग्लिन–पोखरा सडकमा यात्रा सहज, पूरै बनिसक्न भने अझै समय लाग्ने

मुग्लिन–पोखरा सडकमा यात्रा सहज, पूरै बनिसक्न भने अझै समय लाग्ने
+
-

पोखरा – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक यात्रा सहज हुन थालेको छ। गण्डकी प्रदेशकै लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड दुई लेन मात्रै सडक कालोपत्रे हुँदा यात्रा सहज बन्दै गएको हो।

तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८० किलोमिटर दूरीलाई दुई खण्डमा विभाजन गरेर चार लेनमा स्तरोन्नतीको काम भइरहेको छ। पूर्वीखण्ड (आँबुखैरेनी– जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा) मा एकतर्फी कालोपत्रे अब १० किलोमिटरको हाराहारीमा बाँकी छ।

गएको बर्खाको तुलनामा यात्रा सहज हुदै गएपनि थपिएको म्यादमा पनि नसकिने निश्चित छ। २०२६ सालमा रेखांकन भएको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ पोखरा सडक खण्डको एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा चार लेनमा विस्तार भइरहेको हो।

मुग्लिन पोखरा योजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको प्रगति कमजोर छ। जामुने पोखरा खण्डमा ४९.३४ प्रतिशत काम भएको योजना प्रमुख कृष्णबहादुर कुवँरले बताए। ३४.५ किलोमिटर दूरीमा पहिलो चरणको कालोपत्रे भएको उनले जानकारी दिए। यो खण्डको दूरी ३९ किलोमिटर हो।

योजना प्रमुख कुवँरका अनुसार १७.६५ किलोमिटर दूरीमा दुईतर्फी (चार लेन) कालोपत्रे भएको छ। १६.८५ किलोमिटरमा एकतर्फी (दुई लेन) कालोपत्रे सकिएको हो। अब एकतर्फी मात्र कालोपत्रे हुन कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोक, पोखरा विश्वविद्यालय र तनहुँको थर्पु क्षेत्रमा बाँकी रहेको उनले बताए।

सुरुमा यो खण्डमा बिजुली पोल समयमै स्थानान्तरण नहुँदा कामको गति बढ्न सकेको थिएन। अहिले जहाँ काम भइरहेको छ, त्यहाँ विद्युत् प्राधिकरणले पनि काम गरिदिएको योजना प्रमुख कुवँर बताउँछन्। ‘हामीले जुन ठाउँमा काम गरिरहेका छौँ, त्यो ठाउँमा पोल सार्ने काम भाछ’, उनी भन्छन्, ‘पहिला भएको ढिलाइ अहिले सरेर आएको हो। अहिले लक्ष्यअनुसार काम भइरहेको छ।’

पश्चिम खण्डअन्तर्गत १२ वटा पुल निर्माण गर्नुपर्नेमा १० वटा सकिएको छ। सडककै ठेक्काअन्तर्गत बनाउनुपर्ने कास्कीको विजयपुर खोला र तनहुँको शेराटार पुलको काम भइरहेको छ। जामुने–पोखरा (पश्चिम खण्ड) को दूरी ३९ किलोमिटर रहेको छ। यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सन कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लिएको हो। २०७८ जेठ ३ गते यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले सडक स्तरोन्नतीको ठेक्का सम्झौता गरेको थियो। २०८१ भदौ १२ गते सक्नुपर्नेमा दुई पटक म्याद थप भएको छ। पहिलो पटक १०१ दिन र दोस्रो पटक ३९० दिन म्याद थप भएकोमा आगामी डिसेम्बर ३१ सम्ममा काम सक्नुपर्ने हुन्छ।

इन्जिनियर विष्णु पाण्डेका अनुसार मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को ८२.९५ प्रतिशत भौतिक प्रगति भएको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीको सडक चार लेनमा स्तरोन्नती गर्ने ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लिएको हो। २०८१ वैशाखसम्म काम सक्ने सम्झौता भएकोमा वर्षदिन धकेलिँदा पनि सकिएको छैन। पछिल्लो पटक थपिएको म्याद आगामी असार २९ गते सकिँदै छ।

पूर्वीखण्डमा दुईतर्फी गरेर ७६.६ किलोमिटर सडक कालोपत्रे भएको इञ्जिनियर पाण्डेले बताए। दमौजी बजार, विमलनगरको ऐनापहरा र डुम्रेको नाहाल क्षेत्रमा कालोपत्रे बाँकी रहेको उनको भनाइ थियो। अहिले दमौली बजारको १.८ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम भइरहेको पाण्डेले सुनाए। ‘विमलनगरको ३०० मिटरको दूरीमा खोलातर्फबाट पर्खाल लगाउने काम हुँदै छ’, उनले भने।

पूर्वी खण्डमा अहिले धमाधम अन्तिम तहको अस्फाल्ट कालोपत्रे भइरहेको पाण्डे बताउँछन्। ‘अन्तिम लेयर पनि दुई लेनमा हिसाब गर्दा ७० किलोमिटर जति काम भयो’, उनी भन्छन्, ‘सबै कालोपत्रे यो आर्थिक वर्षभित्र सक्ने लक्ष्य हो।’ अन्तिम तहको अस्फाल्ट कालोपत्रे चार सेन्टिमिटरमा गरिएको हो।

मादीमा ‘आर्क’ र सेतीमा ‘सिग्नेचर’ पुल


मादी नदीमा ‘आर्क ब्रिज’ धमाधम निर्माण भइरहेको छ। यो पुलका लागि छट्टै ठेक्का लागेको हो। हालसम्म ६९ प्रतिशत काम सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णु पाण्डेले बताए।

‘मध्य भागको दुई वटा स्पानको काम बाँकी छ। वैशाखमै काम सकिँदैन’, पाण्डेले थपे, ‘तोकिएको म्यादमा सक्ने सम्भावना कम छ। बर्खाको बेलामा काम सुरु गर्न मिल्दैन।’ ६ वटा स्पानको पुल बन्न लागेको हो।

तनहुँ सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–४ र ५ लाई जोड्ने गरेर निर्माण भइरहेको मादी नदीको पुल ३१५ मिटर लामो छ। पुल निर्माणका लागि अनक जेडआइइसी जेभीले २०२२ अगष्ट ११ मा ठेक्का सम्झौता गरेको थियो। तीन वर्षमा सक्ने सम्झौतामा उल्लेख छ। पुलको लागत १ अर्ब २१ करोड रुपैयाँ हो। पूर्वीखण्डमा मादीको ‘आर्क ब्रिज’ बाहेक १७ वटा पुल निर्माण भइसकेका छन्। बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा लगायतका खोला खोल्सीमा पुल निर्माण गरिएको आयोजनाले जनाएको छ।

सडककै ठेक्काबाहेक दमौलीको मादी र पोखराको सेती नदीमा पुल बनाउन छुट्टाछुट्टै ठेक्का लागेको हो। पृथ्वीचोकस्थित सेती नदीमा निर्माणधिन पुलको ४५ प्रतिशत काम सकिएको छ। ‘फाउण्डेसनसम्मका सबै काम सकियो। एंकर ब्लकको काम हुँदै छ। सुपर स्ट्रकचरको काम बाँकी छ’, पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुवँरले जानकारी दिए।

पुल निर्माणको कार्य २०८१ भदौ २१ गतेभित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। निर्माणाधिन चार लेनको ‘सिग्नेचर’ पुलको लागत १ अर्ब ७ करोड रुपैयाँ (भ्याटसहित) रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?