सनातन यात्रा

वैदिक यज्ञका विशेष कुराको विवेचना

वैदिक यज्ञका विशेष कुराको विवेचना
+
-

विषयप्रवेश

वैदिक परम्परामा उपनयन (व्रतबन्ध) गरेपछि मात्र वेद पढ्ने योग्यता प्राप्त हुन्छ। विधिवत् वेद पढेपछि मात्र वैदिक यज्ञ गर्ने अधिकार हुन्छ। बाह्मणको उपनयन (व्रतबन्ध), यज्ञ गर्न पूर्वावश्यक श्रौत (वैदिक) अग्निको आधान (विधिपूर्वक संस्कार गरेर अग्निको स्थापना) तथा अरू कतिपय विशिष्ट यज्ञहरूको अनुष्ठान पनि वसन्त ऋतुमा गर्नू भन्ने विधान पाइन्छ। त्यसै गरी क्षत्रियले उपनयन र श्रौत अग्निको आधान ग्रीष्म ऋतुमा गर्नू भन्ने विधान पाइन्छ। उपनयन संस्कार वेदको अध्ययनका लागि नै गर्नुपर्ने भएकाले र वेदमा मुख्य रूपमा वैदिक यज्ञको अनुष्ठान विहित भएकाले वेदको अध्ययन र यज्ञको अनुष्ठान भन्ने शीर्षकको अगिल्लो लेखमा (२०८१।११।१७) विवेचना नगरिएका वैदिक यज्ञसम्बद्ध कतिपय विशेष कुराको विवेचना यस लेखमा प्रस्तुत गरिँदै छ।

जेजस्तो परिस्थिति भए पनि अधिकांश हिन्दु‌हरूले आफ्नो मूल धर्मग्रन्थ वेद हो भन्ने कुरासम्म त सुनेकै छन्। तथापि वेदको अध्ययनको र त्यसको यज्ञमा कसरी उपयोग हुन्छ भन्ने व्यवस्थाको राम्रो परिचय भने बिरलै हिन्दुहरूले पाएका छन्। उपनयन (व्रतबन्ध) संस्कार वेद पढ्नैका लागि गरिने विशिष्ट संस्कार हो भन्नेसम्म चेतना पनि हराई समाजमा ब्राह्मणको व्रतबन्ध पनि भेडाबाख्रे सामूहिक व्रतबन्धका रूपमा उपहास्य हुन पुगेको पनि कताकती देखिन्छ। धेरैले त भ्रमै पालेर भ्रमकै खेती गरिरहेका पनि छन्। संस्कृतका कतिपय पण्डितहरू पनि यस विषयमा कुइराका काग भएका देखिन्छन्। गुरुकुलको शास्त्रीय व्यवस्था र मर्यादा बुझ्‌दै नबुझेका वा बुझेर पनि त्यसको सोझै उल्लङ्घन गर्ने-गराउने व्यक्तिले वा समुदायले गुरुकुलपद्धतिको वेदविद्याश्रम भनी लोकमा भ्रम फैलाएको पनि पाइन्छ। त्यस्ता कार्यबाट धर्मको वृद्धि हैन ह्रास नै हुने खण्ड पर्न जान्छ। तसर्थ यस सम्बन्धमा केही आधारभूत मूल कुराहरू स्पष्ट पारी हाम्रो समाजमा वैदिक अध्ययन र यज्ञको अनुष्ठानप्रति विवेकपूर्ण श्रद्धा जगाउने प्रयास गर्न आवश्यक देखिएको छ। ठुलठुला भवन, चिल्ला गाडी, पर्याप्त भूमि, अथाह धन भएका ब्राह्मणादि हाम्रा देशमा हुँदाहुँदै पनि शास्त्रसम्मत वैदिक अध्ययन-अध्यापन-पद्धतिको वर्तमान दुर्दशा देख्दा मनमा भएको उकुसमुकस पोख्न पनि यो लेख प्रस्तुत गरिएको हो। लोकको विवेकपूर्ण श्रद्धा जाग्यो भने हिन्दुबहुल नेपालमा एउटा-दुइटा मात्र भने पनि शास्त्रोक्त विधिले वेद पढ्ने-पढाउने केन्द्र जनसमक्ष प्रस्तुत हुन सक्लान् भन्ने आशा पनि यहाँ कलम चलाउन प्रेरक भएको छ।

विधिपूर्वक वेदको अध्ययन

वेद ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद गरी चारथरी छन्। ऋग्वेदादि प्रत्येकका धेरै शाखा छन्। वेद पढ्दा आफ्ना बाबुबाजेले जुन वेदको जुन शाखा पढ्दै आए‌का हुन् पहिल्यै त्यही वेदको त्यही शाखा पढ्ने र नित्यकर्म-संस्कारकर्म-श्राद्ध‌कर्म-यज्ञकर्महरू मूल रूपमा त्यसै शाखाअनु‌सार गर्ने व्यवस्था शास्त्रले गरेको छ र परम्परा पनि त्यस्तै छ। पूरा वेद नपढ्‌ने ब्राह्मणले पनि सङ्कल्पवाक्यका आधारमा आफ्नो वेदशाखाको नाम सुनेको हुन्छ। बाह्मणले उपनयन भएपछि विधिपूर्वक वेद पढ्दा समर्थ भए क्रमशः आफ्नै पिता, पितामह, दाजु, पितृव्य (सानबा-ठुलाबा) वा अरू कुनै स्वकुलका मान्य सदाचारनिष्ठ व्यक्तिबाट पढ्नुपर्छ। तिनीहरू असमर्थ भए स्वशाखीय कुनै सदाचारी योग्य अधिकारसम्पन्न आचार्यबाट स्वशाखावेद विधिपूर्वक पढ्नुपर्छ। सरकारको वा कुनै अन्य निकायको अधीनमा बसी चलाइने अशास्त्रीय पद्धतिका पठन-पाठनबाट अविधिले पढिएको वेदमन्त्र धर्मका लागि काम लाग्दैन, त्यसबाट अपूर्व वा अदृष्ट उत्पन्न हुँदैन, विधिपूर्वक पढिएका वेदमन्त्रबाट धर्मज्ञान गरी तिनकै प्रयोग गरेर अनुष्ठान गरिएका वैदिक यज्ञयागादि धर्मकर्मबाट मात्र अभीष्ट फल प्राप्त हुन्छ भन्ने मीमांसाशास्त्रको र वैदिक शिष्टहरूको स्पष्ट सिद्धान्त छ।

अविधिले पढिएका, पुस्तकका भरमा पढिएका र अज्ञातकुलशील अनधिकारी व्यक्तिबाट पढिएका वेदबाट धर्मज्ञान गरेर वैदिक धर्मकर्म गर्ने कुरा मान्य छैन भन्ने कुरा मीमांसकशिरोमणि कुमारिल भट्टले तन्त्रवार्तिकमा (१।३।७, आदन्दाश्रमसंस्करण) यसरी खोलेर लेखेका छन्–

यथैवाऽन्यायविज्ञाताद् वेदाल् लेख्यादिपूर्वकात्।
शूद्रे
णाऽधिगताद् वाऽपि धर्मज्ञानं सम्मतम्।।

‘स्वाद्ध्यायोऽद्ध्येतव्यः’ (स्वशाखा वेद पढ्नुपर्छ) भन्ने ब्रह्मवाक्य छ (शतपथब्राह्मण ११।५।६।३)। अश्रोत्रियको अर्थात् विधिपूर्वक वेद पढेर त्यसबाट यथार्थ रूपमा धर्मज्ञान नगरेका द्विजाति व्यक्तिको वैदिक यज्ञमा अधिकारै नहुने कुरा ‘अङ्गहीना-ऽश्रोत्रिय-षण्ढ-शूद्रवर्जम्’ भनेर कात्यायन मुनिले श्रौतसूत्रमा (१।१।५) स्पष्ट रूपमा बोलेको देखिन्छ। यस्तै विधिवाक्यका र कल्पसूत्रका वचनका आधारमा नै मीमांसक-शिरोमणि कुमारिल भट्टले उक्त कुरा लेखेका हुन्। तसर्थ वैदिक यज्ञमा मूल रूपमा यजमानका स्वशाखा-विधानको नै अनुसरण गर्नुपर्छ। त्यसमा कल्पकार मुनिका वा स्मृतिकार मुनिका आदेशविना स्वेच्छाले अर्काका वेदशाखामा जान मिल्दैन, त्यस्तो विधानै छैन, बाटै छैन। वैदिक यज्ञ जुन पायो त्यही मत लिएर वा अर्काको लहैलहैमा दगुरेर गर्न हुने यज्ञ हैन, आफूले विधिपूर्वक पढेका स्वशाखावेदका ग्रन्थहरूबाट यज्ञको स्वरूप राम्ररी बुझी गर्नुपर्ने यज्ञ हो। तसर्थ वेदाध्ययनको र वैदिक यज्ञको यस प्रकारको मार्ग छोडी परशाखामा जाने व्यक्ति शाखारण्ड भनिन्छ, निन्दित हुन्छ र त्यस्ताले गरेको कर्म निष्फल पनि हुन पुग्छ भनेर वेदमर्मज्ञ शास्त्रकारहरूबाट बताइएको छ। जस्तै कात्यायनस्मृतिकारको वचन–

स्वशाखाश्रयमुत्सृज्य परशाखाश्रयं च यः।
कर्तुमिच्छति दुर्मेधा मोघं तत् तस्य चेष्टितम्।। (१।३।२)

नेपालका बहुसङ्ख्यक ब्राह्मणहरूको वेदशाखा माध्यन्दिनीय-वाजसनेयि-शु‌क्लयजुर्वेद हो। वेदशाखाको र गोत्रप्रवरको ठेगान नभएका व्यक्तिको ब्राह्मणत्व नै निश्चित हुँदैन। त्यसैले ब्राह्मणहरू आफ्ना वेदशाखाको र गोत्रप्रवरको निश्चय गरी तदनुसार श्रौत-स्मार्त कर्म गर्छन्। शास्त्रीय रूपमा यज्ञानुष्ठान गर्न स्वशाखावेद र कल्पसूत्रका साथै शिक्षा, व्याकरण, निरुक्त, छन्दःशास्त्र र वेदाङ्गज्योतिष तथा मीमांसाशास्त्रसमेत पढ्नुपर्ने निर्देश पनि छ। यजमानपत्नीले पनि यज्ञमा कतैकतै वैदिक मन्त्र उच्चारण गर्नुपर्ने वेदको निर्देश भएकाले वैदिक मन्त्र पढ्न आवश्यक हुन्छ (द्रष्टव्य– द्विजातिकन्योपनयनविचारः, शिवराज आचार्य कौण्डिन्न्यायन, सारस्वती सुषमा, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी, पृ. १७७–१९२)। यजमान र ऋत्विक्हरू पनि स्वशाखाका प्रातिशाख्य र शिक्षाग्रन्थअनुसार वेदमन्त्रको शुद्ध रूपमा उच्चारण गर्न सक्ने हुनुपर्छ।

योग्यता र सामर्थ्यअनुसार वैदिक कर्मको विधिपूर्वक अनुष्ठान गर्ने क्रम

माध्यन्दिनीय-वाजसनेयि-शुक्लयजुर्वेदशाखाका मन्त्रसंहिता, बाह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र, परिशिष्ट­ग्रन्थहरू, याज्ञवल्क्यस्मृति, मनुस्मृति, इतिहास-पुराण इत्यादि ग्रन्थको अध्ययन-मनन गर्दा गृहस्थ बाह्मणका धर्ममा आआफ्ना योग्यता र सामर्थ्यअनुसार संस्कार-सदाचार-पालनपूर्वक स्नान, सन्ध्योपासन, गायत्रीजप, ब्रह्मयज्ञ, तर्पण, पञ्चमहायज्ञको सम्पादन तथा वेदवेदा‌ङ्गको अध्ययन र धर्मानु‌कूल शुद्ध सन्तानहरूको उत्पादन गर्नुपर्ने देखिन्छ। त्यसभन्दा केही बढी धन र सामर्थ्य हुनेले अनुकल्परूपका अग्निमा गरिने सायम्प्रातर्होमादि कार्यको पनि अनुष्ठान गर्नुपर्ने हुन्छ। त्यसभन्दा पनि केही बढी धनबल र आवश्यक जनबलसमेतको सामर्थ्य हुने गृहस्थले गृह्य अग्निकै आधान गरेर त्यसमा सप्त-पाकसंस्थाको (अष्टका, पार्वणस्थालीपाक, दर्शश्राद्ध, सर्पबलि, आग्रहायणीकर्म, आश्वयुजीकर्म, शूलगव यी सात कर्मको) र अन्य कर्मको पनि अनुष्ठान गर्नुपर्ने निर्देश छ। गृह्य अग्निको आधान गरेर तिनमा गर्न पर्ने कर्म पनि गरिसकेपछि मात्र त्यसभन्दा बढी धन र सामर्थ्य हुनेले श्रौत अग्निको आधान गर्ने र त्यसमा अग्निहोत्र, दर्शपूर्णमासयाग, चातुर्मास्य, निरुढपशुबन्ध, सप्त-सोमसंस्था (अग्निष्टोम, उक्थ्य, षोडशी, अतिरात्र, अत्यग्निष्टोम, वाजपेय, अप्तोर्याम यी सात यज्ञकर्म) इत्यादिको अनुष्ठान क्रमशः गर्ने हो, गृह्य अग्निको आधान गरेर नित्य पाकयज्ञ एक पटक पनि गर्न नसक्नेले दम्भका (ढोङका) निम्ति श्रौत अग्निको आधान गरेर त्यसमा अग्निहोत्रादि कर्म गर्ने हैन भन्ने शास्त्रीय व्यवस्था स्पष्ट देखिन्छ। यस विषयको सप्रमाण विस्तृत प्रतिपादन हाम्रा पिताजीको वैदिक धर्म मूल रूपमा भन्ने ग्रन्थमा उपलब्ध छ (शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, तृतीय संस्करण, २०८०, पृ. ८१५, ८२५, द्रष्टव्य– पाणिनीयशिक्षाव्याख्या, शिवराज आचार्य कौण्डिन्न्यायन, चौखम्बा विद्याभवन, वाराणसी, सन् २००८, पृ.१३१-१३२)।

वेद-स्मृति-पुराणमा श्रद्धा गरी वर्णाश्रमधर्ममा आस्था राखेर निश्छल र निर्दम्भ रूपमा माथि उल्लिखित कर्महरूमध्ये आफूले न्यायपूर्वक जति कर्म गर्न सकिन्छ त्यति कर्म गर्ने ब्राह्मण स्वशाखा छोडी अन्यायले महाक्रतुहरू गर्ने ब्राह्मणभन्दा पनि बढी धर्मपरायण र प्रशंसनीय मानिन्छन्। द्रव्ययज्ञ गर्ने सामर्थ्य नभएका शास्त्र पढेका द्विजातिहरू तत्तत् यज्ञका प्रक्रियाको वेद र कल्पशास्त्रका आधारमा यथार्थ ज्ञान गरेर नै कृतार्थ हुन्छन् भनेर शास्त्रले बताएको छ।

वैदिक यज्ञको न्यायपूर्वक अनुष्ठान

आफ्ना अधिकार र योग्यताअनुसारै कर्म गर्नु वैदिक धर्मको मूल अनुशासन वा मर्यादा हो। त्यसलाई मिचेर वा उल्लङ्घन गरेर लोकका अगाडि ठुलो देखिन मात्र गरिने कर्म दम्भपूर्ण हुन्। हाम्रा वेदादि शास्त्रको यही आशय लोकलाई बुझाउन भागवतमा पनि यज्ञका लागि आवश्यक सबै गुणहरू आफूमा जुटेपछि मात्र अग्निहोत्रादि श्रौत (वैदिक) कर्म गर्नू भन्ने र शुद्ध धनले न्यायपूर्ण रूपले नै यज्ञ सम्पादन गर्नू भन्ने कुरा उल्लेख गरिएको छ। जस्तै–

यर्ह्यात्मनोऽधिकाराद्याः सर्वाः स्युर् यज्ञसम्पदः।
वैतानिकेन विधिना अग्निहोत्रादिना यजेत् ॥७।१४।१६॥

यदृच्छयोपपन्नेन शुक्लेनोपार्जितेन वा।
धनेनाऽपीडयन् भृत्यान् न्यायेनैवाऽऽहरेत् क्रतून्॥११।१७।५१।।

सोमयाग गर्ने सामग्री नजोडी  श्रौत अग्निको आधान गर्ने व्यक्तिले शास्त्रमर्यादाअनु‌सार साँझबिहान नित्य अग्निहोत्र गर्नुपर्छ, अनि पूर्णिमा र  प्रतिपदाका सन्धिमा पौर्णमासयाग तथा अमावास्या र प्रतिपदाका सन्धिमा दर्शयाग गर्नुपर्छ। अनि सक्नेले प्रतिवर्ष चातुर्मास्ययाग पनि गर्नु‌पर्छ।

आफ्ना अधिकार र योग्यताअनुसारै कर्म गर्नु वैदिक धर्मको मूल अनुशासन वा मर्यादा हो। त्यसलाई मिचेर वा उल्लङ्घन गरेर लोकका अगाडि ठुलो देखिन मात्र गरिने कर्म दम्भपूर्ण हुन्। हाम्रा वेदादि शास्त्रको यही आशय लोकलाई बुझाउन भागवतमा पनि यज्ञका लागि आवश्यक सबै गुणहरू आफूमा जुटेपछि मात्र अग्निहोत्रादि श्रौत (वैदिक) कर्म गर्नू भन्ने र शुद्ध धनले न्यायपूर्ण रूपले नै यज्ञ सम्पादन गर्नू भन्ने कुरा उल्लेख गरिएको छ।

चातुर्मास्ययाग गर्ने काल

चातुर्मास्ययाग गर्दा फाल्गुनपूर्णिमामा वैश्वदेवपर्व, आषाढपूर्णिमामा वरुणप्रघासपर्व, कार्तिकपूर्णिमाका अघिल्ला दिनमा र कार्तिकपूर्णिमामा दुई दिन लगाएर साकमेधपर्व र फाल्गुनपूर्णिमाको अगिल्लो दिन शुनासीरीयपर्व गर्नुपर्छ। त्यसको भोलिपल्ट अर्थात् फाल्गुनपूर्णिमा पुनः अर्को चातुर्मास्ययागको पहिलो पर्व वैश्वदेव थालिन्छ। वैदिक यज्ञको अनुष्ठानका निम्ति वैदिक गुरुपरम्पराबाट पढिँदै आएको लगधमुनिप्रोक्त वेदाङ्गज्योतिषको परिभाषाअनुसार निर्धारित काल नै मान्य हुन्छ। ऋतुसँग नमिल्ने अर्वाचीन पद्धतिअनुसारको काल ग्राह्य हुँदैन। यसरी प्रत्येक वर्ष चातुर्मास्ययागको निरन्तर अनुष्ठान गरिन्छ। यो कुरा वाजसनेयि-शाखाको श्रौतसूत्र कात्यायन­श्रौतसूत्रमा स्पष्ट रूपमा भनिए‌को–

चातुर्मास्यप्रयोगः फाल्गुन्याम् (५।१।१), आषाढ्याम् … वरुणप्रघासाः (५।३।१), कार्तिक्यां साकमेधा द्व्यहम् (५।६।१),  फाल्गुन्युपवसथे शुनासीरीयं प्रातर्वैश्वदेवम् (५।११।१८)।

यस व्यवस्थाको विकल्प वा अनुकल्प यस शाखाका आर्ष-(ऋषिप्रणीत)-ग्रन्थमा कतै देखिँदैन। लौकिक वाक्यका भरमा वैदिक यज्ञको अनुष्ठान गर्न मिल्दैन। एक वर्ष मात्र चातु‌र्मास्ययागको अनुष्ठान गरेर त्यसको उत्सर्जन (त्याग) गर्ने पक्षमा शुनासीरीय एउटा पर्वको मात्र अर्को काल कात्यायनश्रौतसूत्रमा बताइएको छ– “संवत्सरेप्सोः फाल्गुन्युद्दृष्टे शुनासीरीयेणेष्ट्वा सोमेन पशुनेष्ट्या वा यजेत पौर्णमास्याम्” (५।११।१६)। यसअनुसार फाल्गुन­पूर्णिमाको भोलिपल्ट शुनासीरीयपर्व गर्नुपर्ने हुन्छ। अरू पर्वका लागि अर्को काल त्यहाँ विधान गरिएको छैन। वैदिक यज्ञका कालपक्षको परिचय नपाएका व्यक्तिका लागि चातुर्मास्ययागको स्वशाखोक्त कालको उल्लङ्घन गर्नु साधारण कुराजस्तो लाग्न सक्छ। तथापि त्यो वैदिक यज्ञको राम्रो मनन गरेका वैदिक विद्वान्‌का लागि सर्वथा अस्वीकार्य कुरा हुन्छ। पाश्चात्त्यहरूले चलाएका परीक्षा प्रणालीअनु‌सार परीक्षा उत्तीर्ण हुने मात्र दृष्टिले वेदको अध्ययन गरेर वृत्ति चलाई आफूलाई कृतार्थ मान्ने, स्वशाखाग्रन्थहरूको राम्रो अध्ययनै नभएका नेपाली ‘वेदाचार्य’हरू शास्त्रीय चातुर्मास्ययागका विज्ञ हुँदैनन्। त्यसैले उनीहरूलाई चातुर्मास्ययाग गरेर मात्र अग्निष्टोम सोमयाग गर्ने अधिकार मिल्छ भन्ने मात्र धूमिल ज्ञान भएको, अग्निष्टोम सोमयाग गर्नुभन्दा अगि चातुर्मास्ययाग­जस्तै निरूढपशुबन्धयाग पनि गर्नुपर्छ भन्ने थाहा नभएको देखिन्छ।

कसैकसैले ‘चातुर्मास्ययागका चारै पर्वका सबै यागहरूको हवनीय द्रव्य गाईको घिउ हुन्छ, अन्य होममा जस्तो यसमा चरुको आवश्यकता पर्दैन’ भनेर लेखेको पनि देखिन्छ। तथापि त्यो कुरा यथार्थ हैन। आफ्ना वेदशाखाका चातुर्मास्ययागको यथार्थ स्वरूपको आकलन गर्दा चातुर्मास्ययागका प्रधान हविमा गाईको घिउ हैन, पुरोडाशहरू (चामल वा जौको पिठोबाट बनाइएका रोटीजस्ता हविर्विशेष), चरुहरू (भातहरू), आमिक्षाहरू (फाटेका दुधका छोक्राहरू), दुध, यवागू (चामलको गिलो भात) इत्यादि हुन्छन् भन्ने स्पष्ट हुन्छ।

निरूढपशुबन्धयागको काल

अग्निष्टोम सोमयाग गर्नुभन्दा अगि चातुर्मास्ययागजस्तै गरी निरूढपशुबन्धयाग पनि गर्नै पर्ने हुन्छ। यो यज्ञ वर्षा ऋतुका पूर्णिमामा वा औँसीमा वर्षको एक पटक अथवा दक्षिणायनका र उत्तरायणका प्रारम्भमा पूर्णिमामा वा औँसीमा वर्षको दुई पटक छाग पशु (बोका) द्वारा गर्नुपर्ने विधान कात्यायन­श्रौतसूत्रमा स्पष्ट रूपमा देखिन्छ–

पश्विज्या संवत्सरेसंवत्सरे प्रावृषि (६।१।१), आवृत्तिमुखयोर्वा (६।१।२), छागं मन्त्राम्नानात् (६।३।१८)।

याज्ञवल्क्यस्मृतिमा पनि ‘प्रतिसंवत्सरं सोमः पशुः प्रत्ययनं तथा’ भनेर (१।१२५)  यही कुरा भनिएको छ।  निरूढपशुबन्धयागको अनुष्ठान पनि लगधमुनिप्रोक्त वेदाङ्गज्योतिषको परिभाषाअनुसार निर्धारण गरिएको प्रावृट्काल वा अयनारम्भकाल ठम्याएर गर्नुपर्छ।

कोही भिन्न सम्प्रदायका व्यक्तिहरू त वैदिक यज्ञमा पशुको आलम्भनको निषेध छ भनेर पुस्तिका नै निकालेर पनि श्रौत (वैदिक) याग गराउँदै हिँडेका देखिए। फेरि कसैले त वेद र कल्पसूत्रको सोझै विरुद्ध कुरा गर्ने  त्यस्तै व्यक्तिलाई नै ऋत्विक् बनाएर वैदिक यज्ञ गरेँ भन्दै प्रचार गरेको पनि देखियो। यो अत्यन्तै अनुचित कुरा हो।

उपसंहार

अधिकारसम्पन्न व्यक्तिले न्यायपूर्वक यथाशक्ति वैदिक कर्महरूको र यज्ञहरूको अनुष्ठान विधिपूर्वक गरेर कृतार्थ हुनुपर्छ। धेरै धन भएका विद्वज्जनले गर्नू भनिएका द्रव्ययज्ञ (विधिपूर्वक द्रव्य त्याग गर्ने यज्ञ) कम धन भएका अपठित व्यक्तिले गर्न खोज्न हुँदैन। गरेमा त्यसबाट कल्याण नभएर अकल्याण हुन पुग्दछ भनेर बुझ्नुपर्दछ। त्यसै गरी वेदको अध्ययन-अध्यापन गर्ने, वैदिक यज्ञमा ऋत्विक् हुने वा स्वयम् यज्ञको अनुष्ठान गर्ने मानिसको कुल, शील, अध्ययन इत्यादिको राम्ररी परिचय लिनुपर्छ र शास्त्रीय रूपमा अधिकारी हो-हैन भनेर चिन्नुपर्छ। नचिनीकन यस्ता कुरा गर्न-गराउन हुँदैन, शास्त्रमा निषेध गरिएको छ– नाऽपरीक्षितं याजयेत्, नाऽध्यापयेत्, नोपनयेत् (विष्णुधर्मसूत्र २९।४, ५, ६)

वैदिक धर्मका श्रद्धालु जनताले पनि वेद-वेदाङ्गादि शास्त्रका आधारमा वैदिक कर्मको र द्रव्ययज्ञको यथार्थ स्वरूपको र क्रमको परिचय दिन सक्ने विद्वान्‌बाट  त्यस्तो परिचय प्राप्त गरी आफ्नो श्रद्धालाई विवेकले खार्नु वाञ्छनीय हुन्छ। जेजस्ता कर्मलाई पनि वैदिक यज्ञ भन्दै बहकाउनेहरूका पछि लाग्न हुँदैन।

वैदिक यज्ञलाई राजनीतिमा मिसाएर विकृत बनाई प्रयोग गरेको र अयथार्थ रूपमा प्रचारित गरेको सुन्दा देख्दा विज्ञ जन चुपै लागेर बस्न उचित हुँदैन। धनी-मानी-बलीहरूले पनि शास्त्रको र धर्मको, सत्यको र न्यायको मर्यादाको पालना गर्ने गर्नुपर्छ, हामीले जता चा‌ह्यो धर्म त्यतै घसेटिन्छ भनेर बलमिच्याइँ गर्नु उचित हुँदैन, त्यसो गर्दा धर्मको धर्मत्व नै जान्छ र त्यसबाट आफ्नो र लोकको पनि रक्षा हुन सक्तैन भन्ने कुरा ‘धर्मो रक्षति रक्षितः’ भन्ने मनुको वचनसमेत गुनेर बुझ्नुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?