
जनकपुरधाम – महोत्तरी प्रहरीले सामान्य विवादमा आफूसँगै धान काट्न गएका एक जनाको हत्या गरेर फरार रहेको आरोपमा साढे १९ वर्षपछि वर्षपछि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाउँपालिका १ बस्ने ६५ वर्षीय सुकेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार ०६२ कार्तिक २५ गते बिहानको समयमा प्रतिवादी र मृतक धान काट्नको लागि बर्दिवास नगरपालिका २ हलामटोल स्थित छत्र बहादुर हमालको धान खेतमा धान काटिरहेको अवस्थामा सामान्य वादबिबाद हुँदा मण्डलसमेतले खुसनन्दन मण्डलको हात समाती कुटपिट गरी धारिलो हसियाले घाँटी रेटी घटनास्थलबाट फरार भएका थिए।
फरार रहेका मण्डललाई खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई सोधपुछ गर्दा आफुले नै मृतक खुसनन्दनको हात समाती कुटपिट गरी धारिलो हसियाले घाँटी रेटी हत्या गरेको स्वीकार गरेकाले बुधबार महोत्तरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।