
काठमाडौँ- शिक्षा मन्त्रालयको नेतृत्वबाट सोमबार राजीनामा दिएकी एमाले सांसद् विद्या भट्टराई शुक्रबार संसद् भवन आइन् र बजेट अधिवेशनको पहिलो बैठकमा सहभागी भइन्।
बैठकमा सहभागी भएपछि उनी संसद् भवनबाट बाहिर निस्किन् अनि महिला सांसद्हरूसँग तस्बिर खिचाइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगपछि भट्टराईले सोमबार बेलुका शिक्षामन्त्रीको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेकी थिइन्।
उनको ठाउँमा सरकारले रघुजी पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइसकेको छ।
सांसद् मित्रहरूसँग तस्बिर खिचाइसकेपछि पूर्वमन्त्री भट्टराई एमाले सचिव योगेश भट्टराईको गाडीमा लिफ्ट मागेर संसद् परिसरबाट बाहिरिएकी थिइन्।