
जनकपुरधाम – नेपालको संविधानले स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ। नेपालको संविधानको धारा ३० को उपधारा–१ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनेको छ तर आमनागरिकले भने यो हक पाउन सकेका छैनन्।
वातावरण प्रदूषणका कारण आमनागरिकलाई श्वास लिन तथा विभिन्न रोग मात्र लाग्ने गरेको छैन, प्रदूषणको कारण उनीहरूले बाँच्ने उमेरसमेत घट्दै गएको छ। दुई साताअघि संघीय राजधानी काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको रुपमा रेकर्ड बनाउँदा मधेस प्रदेश त्यसभन्दा अछुतो छैन। मधेस प्रदेशका जिल्लामा वायु प्रदूषण मापन गर्ने यन्त्र जडान नभए पनि वायु प्रदूषण मापन गर्ने स्वीजरल्याण्डको संस्था आईक्यू एयरले स्याटेलाइटमार्फत सार्वजनिक गर्ने गरेको मापनअनुसार जनकपुर सेन्ट्रल रिजन क्षेत्रको वायु प्रदूषण १०० देखि २०० एक्युआई रहने गरेको छ। जुन स्वास्थ्यको लागि अस्वस्थकर हो।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० हुँदा अस्वस्थ, २०१ देखि ३०० हुँदा निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ। पछिल्ला केही दिनदेखि जनकपुरधामसहित मधेस प्रदेशको क्षेत्रमा वायु गुणस्तर सूचकांक १५० एक्युआईभन्दा बढी हुँदा त्यसको असर आमनागरिकमा देखिने गरेको छ।
बढेको गर्मी र वायु प्रदूषणका कारण सडकमा निस्कनेहरूको संख्यामा कमी आएको छ भने अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ। मधेस प्रदेशका जिल्लामा प्रदूषण बढ्नुको कारण हो सवारीसाधन, इँटाभट्टा र कलकारखानाबाट निस्केको धूँवा र वनमा लागेको डढेलो। वातावरण प्रदूषणले स्वास्थ्यमा समेत असर पर्ने गरेको छ।
वातावरणविद् अजित श्रीवास्तवले प्रदूषणको कारण विभिन्न रोगहरू लाग्दा यसले उमेरसमेत घटाउने गरेको बताउँछन्। विश्व स्वास्थ्य संगठनले स्वस्थ हावामा पिएम २.५ को मात्रा सरदरमा २४ घण्टामा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी नहुने मापदण्ड तय गरेको छ। नेपाल सरकारले भने सरदरमा २४ घण्टामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरलाई स्वस्थकर मानेको छ। तर, मधेस प्रदेशमा पिएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्दैन।
अमेरिकाको युनिभर्सिटी अफ सिकागोले प्रत्येक वर्ष एअर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ। जसमा वायु प्रदूषणको कारण औसतमा मानिसको आयु कति घटेको छ भनेर सार्वजनिक गर्ने गरेको छ। युनिभर्सिटीले २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मधेस प्रदेशमा वायु प्रदूषणको कारण सरदरमा ५.०८ वर्ष उमेर घटेको छ। युनिभर्सिटीले २०२२ मा विश्वभरिको वायु गुणस्तरको तथ्यांकमा आधारित भएर २०२४ मा आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त प्रतिवेदन अनुसार वायु प्रदूषणको कारण रौतहटमा सबैभन्दा बढी उमेर घटेको छ। यहाँ सरदरमा वायु प्रदूषणको कारण ५.३३ वर्ष उमेर घटेको हो।
यस्तै, महोत्तरीमा वायु प्रदूषणको कारण ५.२६ वर्ष, पर्सामा ५.२२, बारामा ५.२, धनुषामा ५.११, सर्लाहीमा ५.०२, सिरहामा ४.८६ र सप्तरीमा ४.६१ वर्ष उमेर घटेको हो। प्रदेश अनुसार मधेसमा वायु प्रदूषणको कारण सरदरमा ५.०८ वर्ष उमेर घटदा लुम्बिनी प्रदेशमा ३.६८, कोशीमा ३.४१, बागमतीमा २.५८, गण्डकीमा २.४७, सुदूरपश्चिममा २.४६ र कर्णाली प्रदेशमा १.७१ वर्ष उमेर घटेको हो।
प्रदूषण बढ्नुको कारणमध्ये एक हो वनमा लागेको डढेलो। गर्मी लागेसँगै मधेस प्रदेशको विभिन्न जिल्लामा रहेको वनमा डढेलोको घटनामा वृद्धि भएको छ। वन डढेलो पहिचात तथा अनुगमण प्रणालीको तथ्यांक अनुसार जनवरी १, २०२५ देखि २६ अप्रिलसम्म मधेस प्रदेशमा ३८४ स्थानमा वन डढेलो देखिएको हो। यस सम्बन्धी थप विवरणमाथिको इन्ट्राक्टिभ म्यापमा प्रस्तुत गरिएको छ।
वातावरण विद श्रीवास्तवले वन डढेलोले वायु प्रदूषण मात्र नभई अन्य विभिन्न क्षेत्रमा प्रभावव पार्ने गरेको बताउँछन्। ‘वन डढेलोको कारण एक त गर्मीको समस्या उत्पन्न भएको हो जसले गर्दा जैविक विविधतामलाई ड्यामेज ग¥यो। अर्को कुरा आगो लागिसकेपछि विरुवा र जनावरलाई समेत हानी पुर्याउँछ’, वातावरण विद श्रीवास्तवले भने।
उनका अनुसार डढेलोको कारण डढेलो सकेपछि रुख ड्यामेज हुने र ग्रोथमा समेत समस्या हुने गरेको छ। ‘वन डढेलो लाग्दा ठूलो क्षेत्रमा लाग्ने गर्छ जसले गर्दा पीए २.५, पीएम ५ र पीएम १० ठूलो मात्रामा उत्पन्न हुन्छ, जसले गर्दा त्यो हाम्रो फोक्सोभित्र जाँदा फोक्सो सम्बन्धी समस्या ल्याउँछ’, उनले अगाडि भने, ‘यसले कहीँ न कहीँ हाम्रो मांसिक स्वास्थ्यमा समेत समस्या पारिरहेको हुन्छ।’
प्रदेश वन निर्देशनालय, मधेस प्रदेशका वन अधिकृत सुरेश शर्माले मुख्यतया दुई कारणले वनमा डढेलो लाग्ने गरेको बताउँछन्। ‘एउटा भनेको प्राकृतिक कारण हो, जस्तो चट्यांग खस्दा, ढुंगामा ढुंगा घिस्रेर, हावाहुरी चल्दा एक अर्कामा घर्षण हुँदा र अर्को मानवद्वारा लगाइन्छ। एउटा जानाजान र अर्को भूलवस’, उनले अगाडि भने, ‘हाम्रोतिर बढी जानाजान नै डढेलो लगाउने गरेको देखिन्छ। खास गरेर अशिक्षाले गर्दा डढेलो लगाउँदा घाँस पलाउँछ, कहीँ सर्प र बिच्छीको प्रकोप हुन्छ भने आगो लगाइदिन्छ।’