जहाँ पुग्यो त्यहीँ उपद्रो मच्चाउँथे शाखाअधिकृत विष्ट, पत्र बोकेर आफैँ पुगेका थिए डिल्लीबजार कारागार

जहाँ पुग्यो त्यहीँ उपद्रो मच्चाउँथे शाखाअधिकृत विष्ट, पत्र बोकेर आफैँ पुगेका थिए डिल्लीबजार कारागार
+
-

काठमाडौँ – सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले आफूखुशी पत्राचार गरी बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका टिकापुर घटनाका दोषी रेमश चौधरीलाई एकाएक जेलमा पुर्‍याए

चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको २०८० जेठ १४ गतेको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा विष्टले पूर्ण वा संवैधानिक इजलासबाट मुद्दाको विषयमा कारबाही हुने भन्दै तत्कालका लागि चौधरीलाई जेल हाल्न अनधिकृत पत्र लेखे।

स्वेच्छाचारी रुपमा तयार पारेको पत्र बोकेर बिष्ट आफैँ कारागार कार्यालय डिल्ली बजार र प्रहरी प्रधान कार्यालयमा पुगेको पाइएको छ।

बिष्टले जारी गरेको फर्जीपत्र पाएको केहीबेरमै चौधरी पार्टी एकताका लागि गरिएको कार्यक्रम स्थलबाटै पक्राउ परे। सर्वोच्चको पत्रका आधारमा चौधरी पक्राउ परेको जानकारी मिडियामार्फत सार्वजनिक भएपछि सर्वोच्च प्रशासनले त्यसको आधिकारिताबारे सोधिखोजी गर्‍यो।

सोधिखोजीका क्रममा बिष्टले मनलागी रुपमा पत्र तयार पारेर आफैँ बुझाउन गएको खुल्यो। लगत्तै सर्वोच्चले सहसचिव एवं प्रवक्ता अच्युत कुइँकेलले यसअघि जारी भएको पत्र आधिकारिक नभएको भन्दै चौधरीलाई थुनामुक्त गर्न कारागार कार्यालयलाई पत्राचार गरे।

शाखाअधिकृत विष्टले पठाएको पत्र (बायाँ) र सहसचिव अच्युत कुइँकेलले सच्याएको पत्र।

सहसचिव कुइँकेलले डिल्लीबजार कारागारलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई ब.नं.११।२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय हिसारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पष बमोजिम कैलाली जिल्ला साविक दुगौली गा।वि।स। वडा न।८ हाल जानकी गाँउपालिका वडा नं।६ घर भएका लालबिर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद/थुनामुक्त गरिदिनुहुन अनुरोध छ।’

लगत्तै चौधरी छुटेका छन्

सर्वोच्च अदालत जस्तो निकायबाट भएको फिल्मी शैलीको क्रियाकलापको गराउने शाखा अधिकृत बिष्टको पृष्ठभूमि नै यस्तै विवादित रहेको पाइएको छ। उनी यसअघि जुन जुन कार्यालयमा बसे त्यहीँ केही न केही उपद्रो मच्चाउने गरेको तथ्य फेला परेको छ। सर्वोच्च अदालतका एक अधिकारी भन्छन्, ‘उनको पृष्ठभूमि नै विवादित र उपद्रो मच्चाउने रहेछ। यसअघि जहाँ जहाँ काम गरे त्यहाँ यस्तै यस्तै काम गरेका रहेछन्।’

सर्वोच्चमा कार्यरत हुनुभन्दा पहिले उनी कञ्चनपुर जिल्ला अदालतमा तहशिलदारका रुपमा कार्यरत थिए। त्यहाँ हुँदा पनि उनले एउटा मुद्दाको दरपिठको आदेश गर्दा कानुन व्यवसायी माथि व्यक्तिगत तहको गालीगलोज गरेका थिए।

बाटो खुलाउन माग गर्दै आएको एक मुद्दाको दरपिठ आदेशमा बिष्टले लेखेका थिए, ‘कानुन बमोजिम समयमा मुद्दा/निवेदन दर्ता गराई उपचार खोज्नुपर्नेमा सो नगरी सोझै उपल्लो न्यायिक निकायको अनुसरणमा आउनु कानूनी हिसाबले यी कानून व्यवसायीको बिद्वताको कमजोरी त हुँदै हो, अर्को तर्फ समाजको Social Engineer को रूपमा कामगर्ने, Court of officer को रूपमा कामगर्ने समाजको अग्रणी कहलिएको कानून व्यवसायीले नै यसरी जथाभावी मुद्दा दर्ता गर्न ल्याउने, कानूनको अध्ययनै नगरी मुद्दा निवेदनको मस्यौदाकार बन्ने अवस्थाले सुदूर पश्चिम प्रदेशको नै मानव सूचकांक (Human Index) नै Low Profile मा झर्नेक्रम जारी रहेको देखिएको अवस्था छ। अतः प्रस्तुत मुद्दा/निवेदन क्षेत्राधिकार र हदम्यादको अवस्थाले दर्ता गर्न मिल्ने नदेखिएकोले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ बमोजिम दरपीठ गरिदिएको छ।’

शाखाअधिकृत विष्टले गरेको विवादित दरपिठ आदेश

उनको दरपिठ आदेशप्रति कञ्चनपुर बारले मात्रै नभइ केन्द्रीय बारले नै विज्ञप्ति जारी गरी विभागिय कारबाहीको माग गरेको थियो।

कारबाहीको माग गर्ने नेपाल बारविरुद्ध विष्टले तीन पृष्ठको विज्ञप्ति नै निकालेर फेरि उहीस्तरको गाली गलोज र आफ्नै महिमा मण्डन गरेका थिए।

२०७९ जेठ १६ गते विष्टले बारविरुद्ध जारी गरेको विज्ञप्तिको एक अंशमा भनेका थिए, ‘मेरो मातृ संस्थाले चाह्यो भने म पुरस्कृत हुने व्यक्ति हुँ। यो कुरा पनि नेपाल वारले मलाई भन्न बाध्य गरायो। नेपाल बार मेरो लागि को हो त्यो कारबाहीको माग गर्ने? असनमा के जातीले सिङले भित्ता भत्काउँदै पसलको सामान खाए पोखे जस्तै रूपमा आएको, नेपाल वार जस्तो संस्थाले मलाई कुनै कुरा पनि नसोधी निकालेको एकांकी, कपोल कल्पित, कथित प्रेस विज्ञप्तीको कुनै अर्थ नभएको व्यहोरा सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छु।’

कञ्चनपुर जानुअघि बिष्ट नुवाकोट जिल्ला अदालतमा कार्यरत थिए। त्यहाँ रहँदा पनि उनको तत्कालीन न्यायाधीश लोकजंग शाहसँग लफडा गरेका थिए। न्यायाधीश शाहसँग व्यक्तिगत तहमा उत्रेर झगडा गरेपछि उनलाई कारबाही स्वरुप कञ्चनपुर पुर्‍याइएको सर्वोच्च प्रशासनका एक अधिकारीले जानकारी दिए। नुवाकोटबाट बर्दिया सरुवा भएका न्यायाधीश शाहलाई न्याय परिषदले खराब आचरण र कार्यक्षमताको अभाव रहेको भन्दै बर्खास्त गरेको थियो।

फर्जी पत्र तयार पारेर न्यायपालिकाकै छविमा आँच आउने कार्य गरेपछि बुधबार नै सर्वोच्च प्रशासनले बिष्टलाई प्रहरीको जिम्मा लगाएको छ।

किन आफूखुशी पत्र तयार पारेर उपद्रो गरेको भन्ने जिज्ञासामा उनले टिकापुर घटनाका ‘मृतात्मा’लाई शान्त पार्न आफूले त्यस्तो कार्य गरेको जवाफ दिएको त्यहाँका एक अधिकारीले बताए। उनलाई काठमाडौँ प्रहरी परिसरमा राखेर अनुसन्धान सुरु गरिएको प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

यस्तो थियो शाखाअधिकृत विष्टले नेपाल बारविरुद्ध जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चको आधिकारिक पत्र, अधिकृत विष्ट थुनामा

चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चको आधिकारिक पत्र, अधिकृत विष्ट थुनामा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’