झोलामा किताब बोकेर कहिले राजधानी त कहिले धनकुटाका गाउँ डुलिरहन्छन् कृषि अभियन्ता जीवनप्रसाद राई। नेपालको कृषिमाथि आफैद्वारा लेखिएका किताब बोकेर भेटिरहन्छन् आफूले चिनेका मित्रहरूलाई। आफूले मानेका विज्ञहरूलाई। अनि हातमा किताब थमाउँदै कृषिको भविष्य र चिन्ता सुनाउँछन्। गहिरो चिन्ता।
३५ वर्ष कृषि–पर्यटनमा काम गरेका राईले आठ वर्ष लगाएर नेपाल नै घुमे। नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्मकाे कृषि पेशालाई अध्ययन गरे। मनन गरे। कृषकको लगाव र मिहेनतलाई नजिकबाट देखे। यात्राका क्रममा उनी कतै खुसी भए कति साह्रै दुःखी। किनकि देशाटन गर्ने क्रममा उनले जे देखे त्यसमा हर्षित भए। तर देश घुम्दा उनलाई ऋण नै लाग्यो। उनी भन्छन्, ‘देशको कृषिको अवस्था जिज्ञासा लिएर देश घुम्न निस्किएँ तर ३२ लाख ऋण लाग्यो जो अहिले पनि तिरेर सकेको छैन।’
२०६७ माघ १२ गतेदेखि २०७४ मंसिर ५ सम्म देशको कुनाकाप्चा घुम्दा देखेका प्राकृतिक स्रोत र मलिलो जमिनमा हर्किएको हरियाली र खेतीपाती देखेर कृषि पर्यटनको गतिलो सम्भावना देखेका थिए उनले। र उनले लेखे किताब ‘कृषि पर्यटन अभियानमा ३५ वर्ष,’ जो हालै प्रकाशन भई बजारमा आएको छ।
मैले यात्राको क्रममा २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरें। ती किसानहरू परम्परागत खेतीपाती गर्दै आएका थिए। तर त्यसपछिका तन्नेरीहरू भने खेतीपातीमा भिज्न नसकेको देखिनँ। नेपालको कृषि पर्यटनमा त्यो चुनौती चाहिँ छ।
यात्राकाे अनुभवपछि उनले ‘समृद्धिको आधार’ नामक पुस्तक यसअघि ल्याएका थिए। त्यो आधार उनले स्थानीय स्तरमा कृषकको मेहनत र झुकावका कारण लेखेका थिए। ‘देश घुम्ने क्रममा कृषि पर्यटनको जग कसरी बसाल्ने भन्ने मनमा आइरह्यो,’ उनले भने, ‘काठमाडौँमा त जमिनकाे नै अभाव छ तर बाँकी हरेक जिल्लामा कृषि सम्भावना छ।’
राईका अनुसार व्यावसायिक कृषि कर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो तर त्यसलाई अपनाउन भयानक चुनौती बढ्दै गएको लाग्छ उनलाई। ‘मैले यात्राको क्रममा २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरें। ती किसानहरू परम्परागत खेतीपाती गर्दै आएका थिए। तर त्यसपछिका तन्नेरीहरू भने खेतीपातीमा भिज्न नसकेको देखिनँ। नेपालको कृषि पर्यटनमा त्यो चुनौती चाहिँ छ।’
कृषिमै टेकेर देशलाई समृद्धि बनाउने समय हो तर नेपाली युवाहरू पलायन भएका कारण उनी निराश सुनिन्छन्। कोही पढ्नका लागि, कोही वैदेशिक रोजगारीका लागि दैनिक हजारौंको संख्यामा नेपाली पलायन हुन बाध्य छन्। किनकि रोजगारकाे अवसर नभएर। तर राज्यले चाहेको खण्डमा आधुनिक कृषिमार्फत नेपालमै प्रशस्त कमाउन सकिने वातावरण देख्छन् राई। भन्छन्, ‘व्यवस्थित कृषि हुन नसकेकै कारण युवाहरू निराश छन् र विदेशिन बाध्य छन्।’
व्यवस्थित कृषि बनाउने कसले? ‘राज्यले,’ उनले भने, ‘राज्यले मात्र मानव स्रोत र प्राकृतिक स्रोतको व्यवस्थापन गर्दियो भने कृषिबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ।’
चिया चौतारामा भेटिएकाहरूसँग समग्र कृषिको कथाव्यथा सुनाउँदै आएका राई नेपालमा निर्वाहमुखी कृषिले पालिका पनि धान्न धौधौ हुने देख्छन्। ‘निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गरेर पर्यटनको क्षेत्रको विकास गरियो भने नेपालमै प्रशस्त कमाउन सकिन्छ,’ उनले भने।
नेपालीले आफूले सकेको जति कृषि गर्दै आएका छन्, जहाँ राज्यको सहयोग अत्यन्तै न्यून छ। कृषक स्वयंले गरेको प्रगति र उन्नति नै कृषिमा सौन्दर्य थपिएको छ
राईका अनुसार अहिले पनि उर्जावान मानिस र प्रतिभाहरू लगानी अभावका कारण खुम्चिएर बसेका छन्। ‘समृद्धिका आधार’ पुस्तकमा उनले लेखेका छन्— प्राकृतिक रूपमा उपलब्ध स्रोत-साधानको अधिकतम उपयोग पनि समृद्धिको अर्को आधार हो। पानी वन र बनस्पति यहाँको खानपान र संस्कृतिको उपयोग र परिचालन।
‘नेपालीले आफूले सकेको जति कृषि गर्दै आएका छन्, जहाँ राज्यको सहयोग अत्यन्तै न्यून छ। कृषक स्वयंले गरेको प्रगति र उन्नति नै कृषिमा सौन्दर्य थपिएको छ,’ राईले भने।
कृषिलाई बुझ्न हरेक किसानले देश घुम्न पर्ने अनुभव सुनाउछन् राई। तर आफ्नै खर्चमा कमै किसान हिँड्छन्, डुल्छन्। अझ लामो यात्रामा निस्किन डराउँछन्। उनी भन्छन्, ‘कतिले त मलाई पागल भयो पाे भन्थे। घरपरिवारले पनि साह्रै किचकिच गरेका थिए। तर कृषिलाई बुझ्ने हो भने देश घुम्नै पर्छ।’
देश घुम्न रहर भने भोजपुरबाट सुरु हुन्छ।
धनकुटादेखि काभ्रेसम्म
भोजपुरमा जन्मिएका राई बाआमासँगै बसाइँसराइका क्रममा धनकुटा झरे। उनको अहिलेको कुराअनुसार तराई झर्नु पर्थ्याे तर उनीका बाआमाले धनकुटा पुर्याए। किनकि राईको परिवारमा छोरा कि लाहुरे हुन्थ्याे कि विदेशको लाहुरे। तर जीवनप्रसाद राईले लाहुरे हुने सपना देखेनन् कारण गरिबी थियो। त्यसैले उनले एसएलसी दिनेबित्तिकै कुनै न कुनै जागिरमा जोडिने सोच गरे।
उनी भन्छन्, ‘एसएलसी दिएपछि प्रायः छोराहरूले गाउँ छोड्थे। कमाउन हिँड्थे। कि लाहुरे हुनु पर्थ्याे। तर मेरो सवालमा गरिबीका कारण जागिर पहिलो रोजाइमा पर्यो। अनि बुवाको चिनजानका एक हाकिमको घरमा घरेलु काम पाएँ। केही समयपछि त्यहीँ भेटें बारा जिल्लाका कृषि विज्ञ रामानन्दप्रसाद गुप्ता, जसले सिप्रेटमा कार्यलय सहयोगीका रूपमा काम लगाइदिनु भयो।’
मैले सिप्रेटमा १५ वर्ष काम गरे। अनि २०६० सालमा जागिर छोडेर मैले देश यात्रा गरेको थिएँ।
नेपालकाे कृषिलाई केही नयाँ गर्न लागिपरेको सिप्रेट र त्यसमा जागिरे भएका राईकाे जीवन नै माेडियाे। उनी कृषिमा यसरी भिजे कि अन्त सोच्ने मौका पाएनन्। धनकुटामा कार्यलय सहयोगीका रूपमा काम गरेकाे केही वर्षमै अनुभवी र परिपक्क भएर उदाए राई। गुप्ता सरको हात समाएर नै कृषिमा राम्ररी भिज्न पाएकाे बताउँछन् राई। कृषकहरूका लागि आयमूलक परियोजनामा जोडिएर केही वर्ष काम गरे। उनी भन्छन्, ‘मैले सिप्रेटमा १५ वर्ष काम गरें। अनि २०६० सालमा जागिर छोडेर मैले देश यात्रा गरेको थिएँ।’
साठीको दशकअघि हरेक नेपाली करेसामा सही कृषि गरेर हुर्किका थिए। तर उनको यात्रा कृषि प्राविधिक र सामाजिक परिचालकका रूपमा जुर्यो, उनी भन्छन्, ‘मैले सिप्रेडमा परिचालककाे रूपमा नजाेडिएकाे भए सायद कृषिमा लाग्थिनँ हुँला।’
सहभागितात्मक तरकारी बिउ उत्पादन कार्यक्रममा पनि काम गरेका राई अहिले धनकुटाको हिलेमा बसेर कृषि कर्म गरिरहेका छन्। र दुई चार महिनाको फरक पारेर काठमाडौँ र धनकुटा गरिरहन्छन्।
कृषिमै सम्भावना
कुनै पनि विषयको लामो अध्ययन र अनुभवपछि मानिसहरू कतै संघसंस्थामा जोडिन्छन् या त विज्ञका रूपमा कार्यरत हुन्छन् तर राई गाउँ फर्किए कृषि गर्न। धनकुटा जिल्लालाई उनी कृषि पर्यटनको ‘हब’ बनाउने सोच सुनाउँछन्, जसको कार्य सुरु भइसकेको छ।
भोजपुरबाट धनकुटाको ‘तेखिमे कृषि परामर्श फर्म’ सञ्चालन गरिरहेका राई पाख्रिबास नगरपालिका ५ मा कफीका लाख बिरुवा उत्पादनमा लागिपरेका छन्। र यसलाई अभियानका रूपमा अगाडि बडाउँदै आएको बताउँछन्। ‘चार वर्षअगाडि ५ हजार हेक्टरमा कफी खेती गर्ने भनेर सुरु गरिएको थियो, जहाँ ९ सय रोपनीमा कफी हुर्किँदै छ। र अहिले केही सुस्ताए पनि विस्तारै अगाडि बढ्छ। पूर्वी नेपालका पहाडी क्षेत्रका कफी गुणस्तरीय बनाउन हिमालयन जाभा र नेपाल कफी हाउसले पनि भनेको छ,’ उनी भन्छन्, ‘पश्चिम नेपालमा पनि चिया लगाउन सकिने र पूर्वी नेपालमा कफी लगाउन सकिँदाे रहेछ। कृषिका प्राविधिक, अधिकृत र विज्ञहरूले सोच्नु पर्नेछ। पुनर्व्याख्या गर्न अनुरोध गर्छु।’
धनकुटा हिलेमा बस्ने राईका अनुसार राई बन्धुहरूकाे पहल कदमीमा स्थानीय तहले पाँच लाख कफीको बिरुवा लगाउन सुरु गरिसकेकाे छ।
पाख्रिबासको कालो बुङगुर
सहरभित्र ‘धराने कालो बुङ्गुरको मासु’ भनेर बेच्ने पसलहरू प्रशस्तै पाइन्छन्। ती पसलहरूमा शतप्रतिशत धराने बुङ्गुर पाइन्छ पाइँदैन त्यो खोजको विषय हो तर राईका अनुसार धराने कालो बुङ्गुर भनेर बेचिने धनकुटाको हो र विशेष बाख्रिबासको हो।
पाख्रिबासको कालो बुङ्गुरलाई व्यवस्थिति उत्पादन तथा व्यावसायिक विकास हुन नसकेको बताउने राई धराने कालो बुङ्गुर खासमा बाख्रिबासे कालो बुङ्गुर रहेको इतिहास पनि कोट्याउँछन्, ‘२०४० सालपछि धराने कालो बुङ्गुर भनिए पनि खासमा पाख्रिबासका कालो बुङ्गुर धरानमा संकलन हुन थालेर काठमाडौँसम्म आउन थालेपछि त्यो प्रख्यात भयो।’
अहिले त स्थानीय सरकारले बनेको खोर भत्काउने र किसानलाई निरुत्साहित गर्ने काम पनि गरेको छ।
राई लिम्बुको साँस्कृतिक रूपमा जोडिएको कालो बुङ्गुर अहिले तराई मधेस हुँदै भारतबाट आउन थालेको कथा पनि सुनाउँछन् उनी। उनी भन्छन्, ‘बढ्ने पनि छिटो र मिठो पनि हुन्छ। कालो बुङ्गुरको केही पनि फाल्न पर्दैन। यो बुङ्गुरलाई थप प्रविधिको प्रयोग गरेर उत्पादन गर्न सके नेपालमा राम्रो सम्भावना छ। ३२ हजार मेट्रिकटन मासु भुटानमा खपत हुन सक्छ र त्यहाँ पठाउन सकिन्छ। चीनमा ५ करोडभन्दा बढी मेट्रिक टन बुङ्गुर खपत गर्छ, जहाँ हामी बेच्न सक्छौँ। कोशी प्रदेशले मात्रै दश हजार मेट्रिक टन बुङ्गुर सप्लायर्स गर्न सकियो भने धेरै युवाहरूले विदेशमा कमाउनेभन्दा बढी यहाँ कमाउन सक्छन्।’
तर पछिल्लो समय सहर होस् कि गाउँ बुङ्गुर फर्महरू किनारीकृत पारिँदै लगेकोप्रति चिन्ता व्यक्त गर्छन् राई। ‘अहिले त स्थानीय सरकारले बनेको खोर भत्काउने र किसानलाई निरुत्साहित गर्ने काम पनि गरेको छ।’
बुङ्गुर पालनका लागि बनेका सम्बन्धित कार्यलयहरूका कर्मचारीदेखि हाकिम बुङ्गुर नखाने जातिका भएका कारण पनि बुङ्गुरपालन व्यवस्थित हुन नसकेको हाे।
‘पशुसम्बन्धी जेजति कार्यलयहरू छन् त्यसमा कार्यरत हाकिमहरू पुशपालनमा संलग्न नभएको र बुङ्गुरपालनका लागि बनेका सम्बन्धित कार्यलयहरूका कर्मचारीदेखि हाकिम बुङ्गुर नखाने जातिका भएका कारण पनि बुङ्गुरपालन व्यवस्थित हुन नसकेको हाे,’ भन्छन् उनी।
भन्छन्, ‘बुङ्गुरको मासु खानुहुन्न भन्नेले कसरी बुङ्गुरको मासुको प्रबर्द्धन गर्नु हुन्छ?’
स्थानीय सरकारले कुनै निश्चित ठाउँ तोकेर बुङ्गुर पाल्ने घोषणा गर्न पनि सक्छन्। अनुदानको कार्यक्रम ल्याउन सक्छन् र यसमाथि विदेशी लगानी पनि भित्रिन सक्ने बताउँछन् राई।
जागिरका लागि मात्र कृषि पढ्ने भए
कृषि पेशा गर्नेलाई सम्मानित नजरले हेरिएन नेपालमा भन्ने गुनासाे सुनाउँछन् उनी। उनका अनुसार कृषि पेशा गर्नेलाई जहिल्यै गरिबीको ट्याग लगाइयो। तर कृषिका कारण उत्पादन भएकाे अन्नले जीवन बचाउँछ भन्ने भुसुक्कै बिर्सिएको बताउँछन् उनी। राई कृषि पढेका युवाहरूलाई नै हामीले स्वेदशमा रोक्न किन सकेनौँ भन्ने चिन्ता सुनाउँछन्। र नेपालको सन्दर्भमा उनी जोड्छन्।
‘नेपालमा त कृषि पढ्नु भनेको जागिर खानु रहेछ। र नेपालको जागिर पद्धति कस्तो छ भने जिन्दगीभरि जागिर खायो अनि अवकाशपछि पनि जागिर खायो,’ उनी भन्छन्, ‘उद्यमका लागि कृषि पढेनन् मानिसहरूले। तर विकसित मुलुकहरूमा कृषि नै गर्ने भनेर कृषि पढ्छन् र कृषक हुन्छन्। कृषक बन्नका लागि उनीहरु पढिरहेका छन्। हाम्राेमा भने जागिर खान कृषि पढे।’
‘हाइ भ्यालु’ बनाउनका लागि नेपालमा गतिलो योजना बनाउनु पर्ने र लगानी गर्नुपर्ने बताउँछन् राई। भन्छन्, ‘प्रविधिको प्रयोग गर्यौँ भने करोड होइन अरब कमाउन सकिन्छ।’
धनकुटा नगरपालिकामा ‘होम-स्टे’ चलाउँदै आएका राईले धनकुटाकाे चौबिसी गाउँपालिका र साँगुरीगढी गाउँपाउलिकामा काम गर्न थालेका छन्। पाँच वटा होम-स्टे सुरु भएको छ। जसमा उनको पहिलो ‘पार्वती श्रेष्ठ होम-स्टे’ नामबाट दर्ता भएको छ।
प्रशस्त जग्गा जमिन भएका परिवारका युवा सदस्य अथवा पढालिखाहरू विदेश नै ताक्छन्। कृषि अधिकारीहरू नै आफ्ना बच्चाले कृषि नगराेस् भन्नेमा रहेकाे बताउँछन् राई। के तिनले नेपालको कृषि पेशामा सम्भावना नदेखेर होला त? उनी आफै प्रश्न गर्छन्, ‘हाम्रो राज्य र नीजि क्षेत्रका निकायहरूले कृषिमा काम गर्न चासाे नराखेकाेले वा नीतिनियम ल्याउन नसकेकै कारण हामीले युवाहरूलाई रोक्न सक्छौँ।’
जीवनको चार दशक कृषिमै बिताएका राईले कृषिसम्बन्धी २३ वटा किताब नै लेखे। प्रविधिमैत्री भएर आधुनिक कृषिमा लाग्न देशलाई नै आग्रह गर्छन्।
‘चीन र भारतभन्दा अगाडि थियो कृषि पेशा। अहिले त धेरै पछाडि पर्यौँ। हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौँ। अहिलेका पुस्ता डिजिटलमैत्री छ। युवा पुस्ताले त्यो खोजिरहेको छ। तर हाम्रो कृषिले त्यो अवलम्बन गर्न सकेन। अहिले प्रविधिले वितरण गर्न सजिलो बनाएको छ र पनि हामीले प्रभावकारी काम गर्न सकेनौँ,’ उनले भने।
जीवनको चार दशक कृषिमै बिताएका राईले कृषिसम्बन्धी २३ वटा किताब नै लेखे। प्रविधिमैत्री भएर आधुनिक कृषिमा लाग्न देशलाई नै आग्रह गर्छन्।
कृषि पर्यटन घरबास कार्यक्रम आदिले कृषिकर्मलाई कसरी फाइदा पुग्छ भनेर उनी सोचिरहन्छन्। आफ्ना भाइ-भतिजलाई पनि कृषि पेशामै संलग्न गराएका छन्। पाख्रिबासको कालो बुँगुर ललितपुरको गोदाबारीमा ल्याएर उपत्यकामा वितरण गराउँछन्। भन्छन्, ‘मेरो कृषि अभियानले देशभरि प्रभाव पार्न नसके पनि धनकुटामा त पार्छ। म धनकुटाबासी भएकाले पनि प्रभाव पार्ने काम गर्छु र गरिरहेको छु।’