
धनगढी – बाजुराको बुढीनन्दा नगरपालिका–७ स्थित सुदाडी पातल समुदायिक वनमा घाँस काटने क्रममा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
घाँस काट्न गएकी सोही वडाकाे सेरकाटियाकी ५५ वर्षीया काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।
शुक्रबार बिहान स्थानीयले जोशीलाई घाइते अवस्थामा फेला पारेका थिए। स्थानीयका अनुसार बम पट्केजस्तै ठूलो आवाज सुनिएको थियो।
उनको छाती र बायाँ पाखुरामा गहिरो चोट लागेको अवस्थामा स्थानीयले भेटाएका थिए। तर, के कारणले घाइते भएकी हुन भन्ने एकीन थाहा नभएको र प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए।
गम्भीर घाइते जोशीलाई उपचारका लागि एम्बुलेन्समार्फत कोल्टी अस्पताल लगिएकाे थियाे। उनको उपचारकै क्रममा शुक्रबार दिउँसो अस्पतालमै मृत्यु भएको डाक्टर रञ्जित शाहले जानकारी दिए।
डाक्टर शाहका अनुसार उनकाे छातीमा घाउका कारण अत्याधिक रक्तश्राव हुँदा मुत्यु भएको हो। गहिरो घाउ भए पनि यो कारणले हो भनेर एकीन गर्न नसकिने उनले बताए। शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक हवारीले कोल्टी प्रहरीको टोली घटनास्थलमा अनुसन्धान गरिरहेको बताए। सुदाडी पातलमा बम पड्केको जस्तै ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन्।