
नेपालगन्ज- नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नियमित पठनपाठनको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आजदेखि रिले अनशन सुरु गरेको छ।
आंशिक प्राध्यापकहरूको आन्दोलनका कारण एक सातादेखि ठप्प बनेको शैक्षिक गतिविधि पुनः सञ्चालन गराउन दबाब सिर्जना गर्न विद्यार्थीहरू रिले अनशनमा बसेका हुन्।
स्ववियुका सभापति केशरजंग शाहीले क्याम्पस प्रशासनलाई तत्काल पठनपाठन सुचारु गर्न चेतावनी दिँदै भने, “हामीले दुई दिनको अल्टिमेटम दिएका छौं। यदि निर्धारित समयभित्र पढाइ सुरु भएन भने हामी थप सशक्त आन्दोलनमा जानेछौं।”
क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू विगत एक महिनादेखि विभिन्न मागसहित आन्दोलनरत छन्। उनीहरूले आफ्नो तलब सुविधा, स्थायीत्व, र अन्य श्रम अधिकारका विषयमा क्याम्पस प्रशासनसँग वार्ताका लागि दबाब दिँदै आएका छन्। तर, समस्या समाधान नहुँदा कक्षा सञ्चालन अवरुद्ध हुँदै आएको छ।
पठनपाठन अवरुद्ध हुँदा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। यसै कारण स्ववियुले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउन चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।
स्ववियु सभापति शाहीले भने, “यो आन्दोलन राजनीतिक नभई शैक्षिक हकको पक्षमा हो। हामी विद्यार्थीको भविष्यसँग सम्झौता गर्न सक्दैनौं।”
पश्चिम नेपालकै पुराना र प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिने महेन्द्र बहुमुखी क्याम्पस लामो समयदेखि स्थानीय तथा क्षेत्रीय विद्यार्थीहरूको प्रमुख रोजाइ रहँदै आएको छ।
यस्ता संस्थामा पठनपाठन अवरुद्ध हुनु सम्पूर्ण शैक्षिक वातावरणकै लागि चिन्ताजनक विषय बनेको विद्यार्थीहरू बताउँछन्।