
दाङ – रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१० तिमिलेमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो गाडी दुर्घटना भएको हो ।
सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घटनास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए। नरबहादुरकी माइली आमा र चालक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरुलाई चौरजहारीको मिसन अस्पतालमा पुर्याइएको छ।
दाङबाट कुलपूजामा सहभागी हुन गाउँ आएका चालकसहित ४ जना सवार डबल क्याप स्कोरपियो आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।