
हुम्ला – हुम्लाको अदानचुली गाउँपालिकाको सूर्योदय माध्यामिक विद्यालयको भवनमा बढीले क्षति पुर्याएपछि खुला चौरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ।
वैशाख ५ गतेको वर्षापछिको बाढीले विद्यालयको भवनमा क्षति पुर्याएको थियो। कक्षा ९ का सबै ऐच्छिक विषयको पढाइ खुला चौरमा भइरहेको विद्यालयका प्रधानाध्यापक टंकध्वज खत्रीले बताए।
विद्यालयको कक्षा ९ मा ६५ जना विद्यार्थी अध्ययनरत छन्। यस्तै, कक्षा १० मा १०५ जना र कक्षा ८ मा ३२ जना विद्यार्थी रहेका छन्। प्रधानाध्यापक खत्रीका अनुसार विद्यालयमा हाल ३०० विद्यार्थी छन्।
विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ। वैशाख १९ गतेबाट विद्यालयमा पठनपाठन सुरु भएको थियो। वर्षा भएमा पठनपाठन नै बन्द हुने अवस्था रहेको उनले बताए।
बाढीको कारण एउटा भवन पुरै भत्किएको छ भने चार वटा कोठामा एक मिटरसम्म लेदो पसेकोले ढोका र झ्याल खोल्न सक्ने अवस्था छैन। बाढीले विद्यालयको स्टोर कोठामा समेत क्षति पुर्याएको छ।
हालसम्म कुनै निकायबाट पनि विद्यालय भवन पुनःनिर्माणका लागि पहल नभएको उनले गुनासो गरे।